भन्सारका कर्मचारी अवैध असुली धन्दामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भन्सारका कर्मचारी अवैध असुली धन्दामा

abaidh asuli biratnagar

विराटनगर,  २७ मंसिर । भन्सार कार्यालयहरुमा कर्मचारीहरुद्धारा हुने अपारदर्शी कार्यहरुको बारेमा बेलाबेलामा समाचारहरु बाहिर आउने गरेका छन् । यसैक्रममा विराटनगर भन्सार कार्यालयमा पनि कर्मचारीहरुले स्थानीयहरुलाई ठगी गरिरहेको भेटिएको छ । नजिकको बजारसम्म दैनिक यात्रा गर्ने भारतीय नम्बर प्लेटका गाडीहरुलाई भन्सार पत्र सुविधाको आवश्यक नभए पनि भन्सार कर्मचारीहरुले यो रकम अवैध रुपमा असुली गरेको पाईएको हो ।

मोरङको विराटनगर उपमहानगरपालिकाको विराटनगर भन्सारमा कर्मचारीहरुले स्थानीयहरुबाट अवैध रुपमा रकम असुली गर्दै आएको पाइएको छ । नाका क्षेत्रबाट नेपालतर्फ आउने सवारी साधनले भन्सार पत्र (सुविधा) लिएर मात्र नेपाल प्रवेश गर्न पाउँछ भने नजिकैका बजार सीमा क्षेत्रबाट ५ किलो मिटर वा नजिकैको बजारसम्म पुग्न सुविधा निशुल्क छ । तर भारतीय नम्वर प्लेटका सवारी साधनबाट सुविधा लिने नाममा बिराटनगर भन्सारका कर्मचारीले अवैध असुली गर्ने गरेको पाइएको हो ।

भारतबाट नेपाल आउने साना सवारी मोटरसाइकल र ४ चक्के सवारीलाई नजिकैको बजारसम्म पुग्न भन्सार पत्र (सुविधा) लिनुपर्ने हुन्छ । त्यस बाहेकका अन्य क्षेत्रमा जान भने दैनिक पैसा तिर्नुपर्ने हुन्छ । तर हरेक दिन नजिकैका बजारसम्म कुद्ने सवारीबाट समेत भन्सारका कर्मचारीले अवैध असुली गर्दै आएका छन् ।
biratnagar custom
बिहानको ६ बजेदेखि बेलुकासम्म सयौँ मोटरसाइकल तथा साना सवारीबाट हजारौँ रकम असुल्ने गरेका छन् । सुविधा कागजमा कुनै पनि रकम उल्लेख गरिएको हुँदैन । नजिकैको बजारसम्म पुग्न कै शुल्क तिर्नु पर्दैन भन्ने आफुहरुलाई जानकारी नभएको र बर्षौँदेखि मोटरसाइकलको कर भन्दै तिर्दै आएको स्थानीयहरुको भनाई छ ।

यस बिषयमा प्रश्न राख्न साथ कर्मचारी आतिएका थिए । यसरी हरेक दिन जसो कर्मचारीले देख्दा सानो रकम भएपनि सयौँ सवारीबाट हजारौँ रकम असुल्दा समेत सम्बन्धित निकाय बिराटनगर भन्सार कार्यालय मौन रहेको छ ।

यसरी अवैध रुपमा सङ्कलन भएको रकम राज्यको कुनै पनि कोषमा जम्मा नभएर सिधै कर्मचारीको गोजीमा जाने गरेको छ । भन्सार कार्यालयले भन्सार क्षेत्रमा निगरानीकै लागि भनेर दजनौँ सीसी क्यामेरा जडान गरेको छ । अधिकृतकै कार्यकक्षबाट यो निगरानी गरिन्छ । तर, अवैध रुपमा यसरी सवारीको सुविधा काट्ने नाममा असुली गर्दा पनि सम्बन्धित निकाय मौन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);