काठमाडौं, २१ मंसिर । १३ औं सागको पछिल्लो पदक तालिका अनुसार भारतले ९६ स्वर्ण, ६८ रजत र ३४ कास्य संगै कुल १ सय ९८ पदक जितेको छ । नेपालले ४३ स्वर्ण, ३० रजत र ५८ कास्य सहित १ सय ३१ पदक जितेको छ । श्रीलंकाले २९, पाकिस्तानले २०, बंगलादेशले ५ र माल्दिभ्सले १ स्वर्ण पदक हात पारेका छन् । भुटानले ६/६ रजत र कास्य पदक जितेको छ ।
यसैबीच शनिबार भएको १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालकी संगीता धामीले कुस्तीमा स्वर्ण पदक जितेकी छन् । ५५ केजी तौल समूहमा शनिबार धनुषामा भएको खेलमा उनले बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले पराजित गरेकी हुन ।
यसैगरी ४२ किलोमिटर म्यारथनमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक दिलाएका छन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । भारतीय खेलाडी रास्पाल सिंहले २ घन्टा २१ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पूरा गरी रजत जिते । अर्का भारतीय खेलाडीले श्री सिंह २ घन्टा २२ मिनेट ७ सेकेन्डमा पूरा गरी कांस्य पदक जितेका छन् । सन् १९९५ को साग पछि म्यारथनमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो ।