भद्रपुरको चन्द्रगढी बिमानस्थलको स्तरोन्नती तिब्र | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

भद्रपुरको चन्द्रगढी बिमानस्थलको स्तरोन्नती तिब्र

झापा, २१ मंसिर । लामो समयदेखि थप संरक्षणको गुहार मागिरहेको झापाको चन्द्रगढी विमानस्थले अहिले स्वरुप परिर्वतन गरेको छ । झापाको भद्रपुरस्थित चन्द्रगढि बिमानस्थलको स्तरोन्नतीको काम सुरुवात भएसंगै हिले विमानस्थलले काँचुली फेर्दै अन्तर्राष्ट्रिय स्तरको देखिन थालेको हो । ५२ वर्ष अगाडि स्थापना भएको यो विमानस्थलमा हाल दैनिक ८ सयले आवत जावत गर्दै आएका छन् ।

२०३६ सालमा घाँसे धावनमार्गबाट उडान सेवा शुरु गरेको भद्रपुरको चन्द्रगढी बिमानस्थलको स्तरोन्नतीको काम तिब्र रुपमा अघि बढेको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रविधिको उच्चतम प्रयोग र बिस्तारसंगै बिमानस्थलको धावनमार्ग बढाउनेदेखि लिएर पार्किङस्थल बिस्तार गर्नेसम्मको काम तिब्र रुपमा भइरहेको हो ।

२०७३ सालको भदौदेखि जहाजलाई चाहिने इन्धनको ब्यवस्था पनि यो विमानस्थलले उपलब्ध गर्दै आएको छ । हाल यहाँको टावरले १८ किमीको प्रत्यक्ष कन्ट्रोल गर्ने गर्दछ ।

भुउपग्रहको ब्यवस्था भएपछि २२ सय मिटरदेखि नै पाईलटले नयाँ जडान गरिएको लाईटिङ्ग देख्न सक्छन् । २०७५ साल माघदेखि रात्रिकालीन सेवा पनि यो विमानस्थलले दिंदै आएको छ ।

अव निकट भविस्यमा पोखरा, लुम्विनी, ताप्लेजुङ्गसम्म सिधा उडान गरिने र कुनै पनि बेला आपतकालिन जहाज अवतरण गराउन सकिने ब्यवस्था रहेको विमानस्थलका प्रमुख पूर्ण चुडालको भनाई छ ।

विमानस्थलमा यात्रुका झोला चेक जाँच गर्नको लागि एक्सरे मेसिन जडान गरिएको छ । २४ घण्टा लाईन दिनको अत्याधुनिक जेनेटरको ब्यवस्था पनि रहेको छ भने दमकल, सेफ ल्याण्डिङ्गको लागि फमको पनि जगेडा गरिएको छ ।

हाल यो विमानस्थलबाट भद्रपुरदेखि कठमाडौं १० पटकसम्म विभिन्न एअरलाईन्सले जहाज उडाउँदै आएका छन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रन वे देखि १ सय ६० मिटर सेफजोन भएकोले यो विमान स्थललाई समयमै स्तरोन्नती गर्न जरुरी रहेको वरिष्ठ अधिकृत विष्णु पौडेलले बताउनुभयो ।

विभिन्न एअरलाइन्सले नियमित उडान भर्दै आएको भद्रपुर बिमानस्थलमा उडानहरु थप गर्नका लागि आवश्यक प्रक्रियाहरु भइरहेको पनि जनाईएको छ । काठमाडौं भद्रपुरमात्र नभएर यहाँबाट पोखरा, नेपालगन्ज, उत्तरी पहाडी जिल्लाहरुमा समेत उडानका लागि आवश्यक तयारी भइरहेको छ ।

नागरिक उड्डयन कार्यालय भद्रपुर झापाका अनुसार यहाँ स्वदेशी तथा बिदेशी बराबरजस्तो यात्रुहरु आउने गरेका छन् । भारतका सबैभन्दा बढी र भुटान, बंगालादेश र बर्माका यात्रुहरुले यो हवाइमैदान प्रयोग गर्ने गरेका छन् ।

अहिले काठमाडाैं वा बिराटनगर पुगेरमात्र यहाँ जान सकिने जनाउँदै यस बिषयमा समेत आफुहरुले आवश्यक प्रक्रिया शुरु गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।