रिङभित्रको संघर्ष, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बक्सिङ | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

रिङभित्रको संघर्ष, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बक्सिङ

कविना बलामी,काठमाडौँ । सीमित स्रोतसाधन, कमजोर पूर्वाधार र पर्याप्त सुविधाको अभावकाबीच पनि नेपाली बक्सरहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता प्रस्तुत गर्दैआएका छन्। नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय रिङमा उत्रिँदा उनीहरूको लक्ष्य व्यक्तिगत सफलता मात्र हुँदैन, देशको नाम विश्वमञ्चमा चिनाउनु पनि हो । तर नेपालका धेरै खेलाडी भने आधारभूत सुविधाको अभावमा पनिआफ्नो खेल करियर अघि बढाउन बाध्य छन्।

बक्सिङमा खेलाडीको शारीरिक क्षमता मात्र पर्याप्त हुँदैन। खेलाडीले आफ्नो तौल व्यवस्थापनदेखि फिटनेस, प्रतिक्रिया क्षमता, रणनीति र मानसिक तयारीसम्ममा विशेष ध्यान दिनुपर्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीका लागि प्रशिक्षण अझ व्यवस्थित र वैज्ञानिक हुन आवश्यक हुन्छ । तर नेपालमा नियमित तथा वैज्ञानिक प्रशिक्षणको अवसर सबै खेलाडीले समान रूपमा पाउन नसकेको गुनासो खेलाडीहरुबाट आइरहेकै हुन्छ । बक्सिङ खेलाडीका लागि आर्थिक व्यवस्थापन पनि महत्वपूर्ण चुनौती बनेको छ । बक्सिङको विकासका लागि गुणस्तरीय प्रशिक्षणस्थल, रिङ, पंचिङ ब्याग, ग्लोभ्स, सुरक्षा सामग्री तथा अन्य आधुनिक उपकरण आवश्यक हुन्छन् । समस्याका बाबजुद नेपाली बक्सरहरू आफ्नो लक्ष्यबाट पछि हटेका छैनन्। खेलाडीहरूले राज्यको सहयोगसँगै सम्बन्धित खेल संघको भूमिकामाथि पनि प्रश्न उठाउँदै आएका छन्। एक खेलाडीका अनुसार बक्सिङको समस्या राज्यभन्दा पनि संघको तहमा बढी रहेको छ । उनका अनुसार पहिले संघको व्यवस्थापन र कार्यशैली सुधार हुन आवश्यक छ, त्यसपछि मात्र अन्य पक्षमा सुधार ल्याउन सहज हुन्छ।

बक्सिङको विकासका लागि केवल सरकारी बजेट बढाउनु मात्र पर्याप्त नहुने विषयलाई पनि उजागर गर्छ । खेल संघको व्यवस्थापन, पारदर्शिता, खेलाडी छनोट, प्रशिक्षण अवसर, प्रतियोगिता व्यवस्थापन तथा खेलाडीको हितलाई प्राथमिकतामा राख्ने प्रणाली पनि प्रभावकारी हुन आवश्यक छ । खेलाडीले आफूले देशका लागि आफ्नो जिम्मेवारी पूरा गरिरहेको अवस्थामा सम्बन्धित निकायले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने अपेक्षा उनीहरुले राखेका छन् । खेलाडीको प्रदर्शन राम्रो बनाउन उनीहरूलाई उचित वातावरण र अवसर उपलब्ध गराउनु संघ तथा राज्यको जिम्मेवारी हो।कुनै एउटा प्रतियोगिताका लागि मात्र सहयोग गर्नुको सट्टा प्रतिभाशाली खेलाडीलाई लामो समयसम्म सहयोग गर्ने प्रणाली विकास गर्न सके त्यसको प्रत्यक्ष लाभ खेलाडी र नेपाली खेलकुद दुवैलाई पुग्न सक्छ ।

नेपाली बक्सिङलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना आवश्यक छ । त्यसैगरी खेल संघको व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र खेलाडी केन्द्रित नीति आवश्यक छ । खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसम्मका प्रक्रिया स्पष्ट र व्यवस्थित हुन सके खेलाडीको विश्वास पनि बढ्न सक्छ र खेलाडीहरुको मन पनि जित्न सक्छ ।अन्ततःबक्सिङ खेलाडीहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। उनीहरू प्रशिक्षण गरिरहेका छन्, पसिना बगाइरहेका छन् र देशको प्रतिनिधित्व गरिरहेका छन्। अब उनीहरूको यात्रालाई सहज बनाउने जिम्मेवारी राज्य, राष्ट्रिय खेलकुद परिषद्, खेल संघ, निजी क्षेत्र र समाज सबैको साझा दायित्व हो।

Leave a Reply