ललितपुर, १६ मंसिर । कुखुरा पालक किसानले उत्पादन गरेको कुखुराले बजारमा राम्रो मूल्य नपाउँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।
नेपाल कुखुरा पालक किसान संघ र नेपाल कुखुरा बजार ब्यवस्थापन संघले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा किसानहरुले बजारमा मूल्य नपाउँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् । सरकारले बेवास्ता गरेका कारण कुखुराको चल्ला र दानाको भाउ बढेको र तयारी कुखुराको भाउ घटेको किसानको गुनासो छ ।
कार्यक्रममा किसानहरुले व्यापारी र दाना उद्योगीहरुको बदमासिका कारण आफुहरु चेपुवामा परेको भन्दै उत्पादन गरेको कुखुराको मूल्य आफैले तोक्न पाउनुपर्ने माग समेत गरेका थिए ।
कुखुरा पालक किसानहरुले कुखुराको दाना, चल्ला र औषधीको मूल्य बढेको, किसानको बजारसम्म पहुँच नहुनु जस्ता समस्याले आफुहरु मारमा परेको बताएका थिए । त्यसको समाधानका लागि सरकार गम्भिर हुनुपर्ने उनीहरुको भनाई छ ।