कुमारी छोरीले जन्माएको नवजात शिशु परिवारले मारेर घरमुनी गाडेपछि | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

ताप्लेजुङ, २९ भदौ । ताप्लेजुङमा अवैधरुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा तीनजना पक्राउ परेका छन्। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-५ बाट आरोपित तीनजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अन्दाजी ५० वर्षीय लाक्पा शेर्पा, १२ वर्षीया पेमा जाङ्मु शेर्पा र १६ वर्षीय साङ्गे शेर्पा रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय, दोभानको टोलीले पक्राउ गरेको हो। शिशुकी आमा २३ वर्षीया सन्ध्या शेर्पा भने फरार रहेकी छन्। उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

गत भदौ १४ गते राति अविवाहित छोरी सन्ध्याबाट शिशु जन्मिएपछि परिवारले घरबाट २०० मिटर तल आफ्नै बारीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो। घटना भएको १२ दिनपछि भदौ २६ गतेमात्रै प्रहरीले शिशुको शव फेला पारेको हो। शव गलिसकेकाले लिङ्ग पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल, ताप्लेजुङमा ल्याइएको छ। पक्राउ परेका लाक्पा सन्ध्याका बाबु, साङ्गे भाइ र पेमा बहिनी हुन्।फरार रहेकी सन्ध्यालाई पक्राउ गरिएपछि मात्रै शिशुको बाबु पत्ता लाग्ने प्रहरीले जनाएको छ।