एजेन्सी, ४ मंसिर । हंगेरीलाई २–० ले हराउँदै वेल्स अर्को वर्ष हुने युरोपियन च्याम्पियनसिपमा छनोट भएको छ । छनोट हुनका लागि जित्नै पर्ने दबाबकाबीच घरेलु मैदानमा भएको खेलमा वेल्सलाई जित दिलाउनका लागि आरोन राम्सेको महत्वपूर्ण भूमिका खेले ।
युरो छनोट प्रतियोगितामा पहिलो पटक प्लेइङ सेटमा परेका राम्सेले पहिलो हाफमै वेल्सलाई अग्रता दिलाउन सफल भए । कार्डिफ सिटी स्टेडियममा ग्यारेथ बेलले १५औं मिनेटमा दिएको क्रसलाई राम्सेले हेडर गोल गरेका थिए ।
दोस्रो हाफको दोस्रो मिनेटमा राम्सेले दोस्रो गोल गरे । उनले पेनाल्टी एरियाबाट उत्कृष्ट फिनिस गरेका थिए । अर्को वर्ष हुने युरो कपका लागि पहिलो चरणको छनोट सकिएको छ । छनोट चरणका १० समूहबाट विजेता र उपविजेता छनोट भएका हुन् । युरो कपमा २४ टिमले सहभागिता जनाउँदैछन् ।