२०८१,११,१६
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्न ‘उस्ताद’ भएको आरोप लगाएका छन्। शुक्रवार काठमाडौँमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरसंवादमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानून र विधिसँग कुनै मतलब नभएको आरोप लगाएका हुन्। उनले संविधानमा हुँदै नभएको प्रावधानबाट प्रतिनिधिसभा विघटन गरेको इतिहास पुरानो नभएको बताए। उनले विधि नमान्ने पृष्ठभूमि रहेका प्रधानमन्त्रीबाट सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ नरहेको जिकिर गरेका हुुन।
उनले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता समेत नलिई सरकारले अध्यादेश ल्याउन नपाउने बताए। संसदीय समितिमा छलफलकै क्रममा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएर सरकारले संसदीय विधि उल्लंघन गरेको आरोप समेत लगाए। उनले संसद्को अधिवेशन आह्वान गर्ने समयमा जारी भएका अध्यादेशहरू सरकारले सही नियतले ल्याएको भनेर तथ्यले पुष्टि नगर्ने बताएका छन।
उनले भूमिसम्बन्धी समस्याको समाधान गर्नुभन्दा पनि आफ्नालाई पोस्न सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए। उनले वर्तमान सरकारसँग देश विकासका लागि कुनै खाका नरहेको टिप्पणी गरेका छन।




