काठमाडौं, ३ मंसिर । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग दोस्रो खेलमा नेपाल पराजित भएको छ । भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १ –० गोलको झिनो अन्तरले पराजित भएको हो ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले खेलको २८ औं मिनेटमा निर्णयक गोल गरेका हुन् । खेलमा नेपालले पनि गोलको अवसर पाएको थियो । तर, नेपालले त्यसलाई सदुपयोग गर्न सकेन ।
सुजल श्रेष्ठको क्रसमा २२ औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएको थियो । यस्तै ४० औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले बचाए ।
यस अघि नेपाल अवे खेलमा कुवेतसँग ७(० ले पराजित भएको थियो । दशरथ रंगशालामा हुने तय भएको यो खेल रंगशाला तयार नभएपछि भुटानमा खेलाइएको हो ।




