एजेन्सी, २ मंसिर । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् । उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरीकाले बताएको हो ।
थाइल्याण्डको राजधानी बैंककमा एसिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरुको बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबलमा चाँडै आउने विश्वास व्यक्त गरे । उनले संयुक्त सैन्य अभ्यासमा गरिएको ढिलाईले दुबै मुलुकका कुटनीतिज्ञबीच जारी वार्ता फलदायी हुन सहज बनाउने बताए ।
उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्र स्वरुप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच सिंगापुरमा भएको पहिलो शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाले गत वर्ष पनि धेरैवटा संयुक्त सैन्य अभ्यास रद्द गरेका थिए । तर यसै महिनाको अन्त्यतिर संयुक्त हवाई अभ्यास गर्ने तयारी गरिएको थियो ।




