काठमाडौं, २९ कात्तिक । मदिरा तथा सुर्तीजन्य पदार्थमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइका लागि आन्तरिक राजस्व विभागले गरेको टेन्डर प्रक्रिया नरोकिने भएको छ । स्टीकर छपाइ रोक्ने संसद् लेखा समितिको पटकपटकको निर्देशनलाई बेबास्ता गर्दै आन्तरिक राजस्व विभागले टेन्डर प्रक्रिया अघि बढाएको छ । विभागका अनुसार चालू आर्थिक वर्षका लागि मात्रै पुग्ने स्टीकर स्टकमा भएकाले टेन्डर अघि बढाउनुपर्ने बाध्यता छ ।
छपाइको सबै प्रक्रिया पूरा गरी स्टीकर आउन ८ महीनाभन्दा बढी लाग्ने भएकाले विभागले समयाभावलाई ध्यानमा राखेर टेन्डर प्रक्रियालाई निरन्तरता दिने तयारी गरेको विभागका उच्च अधिकारीले बताएका छन् ।
अर्थ मन्त्रालयका अनुसार हालसम्म चार पटकसम्म अन्तरराष्ट्रिय प्रतिस्पर्धाका आधारमा अन्तःशुल्क स्टीकर किनिएको छ । पछिल्लो समय २०७३ मा अन्तरराष्ट्रिय बोलपत्रमार्पmत ४ अर्ब ९७ करोड २६ लाख थान टिकट किनेको थियो । किनिएका उक्त अन्तःशुल्क स्टीकरको संख्याले अहिलेसम्मको मागलाई धानिरहेको छ ।
अन्तरिक राजस्व विभाग स्रोतका अनुसार दशैंअघि गरिएको टेन्डरमा इन्डोनेशियाको पेरम पेरुरी, भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स, मनिपाल सेक्युरिटी, मलेशियाको लर्नटेक प्रालि लगायत कम्पनीले आवेदन दिएका छन् ।
विभागले असोज १३ गते ४५ दिनको समय दिएर पहिलोपटक सूचना प्रकाशित गरेकोमा १५ दिन समय थपिसकेको छ । विभाग स्रोतका अनुसार अब यो किन्ने प्रक्रियामा सहभागी हुन चाहने बोलपत्रदाताले मङ्सिर १३ गतेसम्म प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।




