काठमाडौं, २० कात्तिक । ललितपुर महानगरपालिकाले सम्पदासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लामा रहेका कला र संस्कृतिहरुको संरक्षण गर्न आवश्यक सुझाव लिने उद्देश्यले अन्तराष्ट्रिय स्तरको सम्पदा सम्मेलन गर्ने योजना तय गरिएको जानकारी दिनु भएको हो ।
सिटीनेट नामक महानगरपालिकाहरुको अन्तराष्ट्रिय स्तरको नेटवर्कको कार्यकारी सदस्य समेत रहेको ललितपुर महानगरपालिकाको संयोजनमा ३८ औं कार्यकारी समितिको मिटिङ पनि सुरु भएको छ ।
बैठकमा नगर विकासका विभिन्न अवधारणाबारे छलफल भईरहेको पनि मेयर महर्जनले जानकारी दिनु भयो । ललितपुर महानगरपालिका सो नेटवर्कको कार्य समितिमा निर्वाचित भएपछि त्यसको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गरिएको हो ।