डडेल्धुरा / बैतडी, ५ कात्तिक । सुदुरपश्चिम प्रदेशको डडेल्धुरा र बैतडीमा पर्ने दशरथ चन्द राजमार्गको भालुमारे अनारखोलीमा दुई व्यवसायीले खुवा उत्पादन गरेर आफ्नो र परिवारको खर्च जुटाउँदै आएका छन् । राजमार्गको किनारमा दुई दशकदेखि खुवा बेच्दै आएका उनीहरु स्थानीय स्तरमा उत्पादन हुने दुध संकलन गरेर त्यसबाट खुवा बनाउने र बेच्ने गरेका छन् । खुवा बनाउने र बेच्ने गरेर नै उनीहरुले परिवार पाल्नुका साथै केही रकम बचत गर्न समेत सफल भएका छन् ।
ईच्छाशक्ती भए नेपालमै रोजगारी छ भन्ने गतिलो उदाहरण दिएका छन् । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाका रामदत्त भट्ट र अमरगढी नगरपालिका वडा नम्बर ६ का गोविन्द बोहराले दुई दशकदेखि दशरथ चन्द राजमार्गको किनारमा खुवा बेच्दै आईरहेका छन् । खुवा बेचेर नै उनीहरुले आफ्नो परिवारको पालन पोषणका साथै छोराछोरीको शिक्षामा खर्चेर केही रकम बचत गर्न सफल भएका छन् ।
त्यस्तै दशरथ चन्द राजमार्गको छेउ पर्ने अमरगढी नगरपालिका वडा नम्बर–६ भालुमारका गोविन्द बोहराले खुवा व्यवसायसँगै दुध खरिद गरेर १० जना अरुलाई समेत रोजगार दिएका छन् । बिहानदेखि पसलमा खुवा घोट्दै गरेका बोहरा थप तालिमको अवसर पाए व्यवसाय बढाउन सकिने विश्वासमा हुनुहुन्छ ।
अमरगढी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गोविन्द राज भट्टले व्यावसायीको माग अनुसार तालिम दिने र उनीहरुलाई आवश्यक सामग्री पनि उपलब्ध गराउन तयार हुनुहुन्छ । त्यस बाटो भएर ओहोर दोहोर गर्ने यात्रुहरु कोशेलीका रुपमा खुवा किनेर लैजाने गरेका छन् । ईच्छाशक्ति भए नेपालमै कमाई गर्न सकिन्छ भनेर यी व्यवसायीले दिएकोे उदहारण नेपालमा रोजगारी छैन भन्दै विदेशिन चाहने युवाहरुका लागि प्रेरणा बनेको छ ।