महरा अझै 'माननीय' ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महरा अझै ‘माननीय’ !

sabhamukh mahara

काठमाडौं, १८ असोज । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुवै पद तत्काल छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो तर उनले सभामुख पदबाट मात्र राजीनामा दिएका थिए ।

महरा अझै नेकपाका सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक उच्च नेताले टिप्पणी गरे । ‘आरोप स्वीकारेझैं चुपचाप पनि बस्ने, पार्टी नेतृत्वको निर्देशन पनि नमान्ने त हुँदैन,’ नाम सार्वजनिक गर्न नचाहने नेकपा स्थायी समितिका एक सदस्यले कान्तिपुरसँग भने, ‘पार्टीको आँखामा महरा अब सांसद रहेनन्, हामीले दाङ क्षेत्र नम्बर २ रिक्त रहेको कल्पना गरिसक्यौं ।’
सभामुखबाट राजीनामा दिएपछि सांसद पदबाट पनि राजीनामा दिएसरह भएको नेकपाका शीर्ष नेतृत्वको निष्कर्ष छ ।

‘महराजीले सभामुखबाट राजीनामा दिएपछि उहाँ स्वतः पार्टीको सदस्य हुनुहुन्छ, सदस्यले पार्टी निर्देशन मान्दिनँ भन्न मिल्दैन,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘अब त सांसद भएर मुख देखाउन पनि उहाँले अप्ठ्यारो मान्नुपर्‍यो नि ।’ राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ मा पदाधिकारी हुँदा दलबाट राजीनामा दिएको विषयलाई दल त्यागेको नमानिने उल्लेख छ । सभामुखबाट राजीनामा दिइसकेका महरा उक्त ऐनअनुसार नेकपाका सदस्य भइसकेका छन् । त्यसैले उनले पार्टीको केन्द्रीय सचिवालयले गरेको निर्णय मान्नुपर्नेछ या त पार्टी छाड्नुपर्ने हुन्छ । निर्वाचित सांसद भएकाले उनले पार्टी छाडे कानुनतः स्वतन्त्र सांसद भइरहन सक्छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);