को बन्ला प्रतिनिधि सभाको सभामुख ? | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

को बन्ला प्रतिनिधि सभाको सभामुख ?

महराको राजीनामापछि नयाँ सभामुख चयनबारे चर्चा शुरु

तेजना पण्डित
काठमाडौं, १५ असोज । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै उक्त पद रिक्त बनेको छ । संघीय संसद सचिवालयले आफ्नो वेभ साइटबाट पनि कृष्णबहादुर महराको नाम हटाएको छ । प्रतिनिधि सभाको रिक्त सभामुखमा अब को आउला ? अहिले राजनीतिमा तातो बहसको विषय बनेको छ । पहिले सभामुख र उपसभामुख एउटै दलका सांसद रहेकोमा अब सभामुख कुन दलले पाउला भन्ने चर्चा अहिले सर्वत्र छाएको छ ।

संसद सचिवालयका कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि मंगलवार सभामुख कृष्णबहादुर महराले राजीनामा दिनु भएको थियो । प्रतिनिधि सभाका सभामुख महरा यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिन बाध्य हुनु भएको हो ।

यौन दुर्व्यवहारको आरोपमा सभामुखबाट राजीनामा दिएको नेपालको इतिहासमै यो पहिलो घटना हो । महराको राजीनामासँगै सभामुख पद रिक्त भएपछि अबको सभामुख को होला भन्ने बहस शुरु भईसकेको छ ।

नेपालको संविधानको धारा ९१ को उपधारा ३ मा रहेको व्यवस्था अनुसार प्रतिनिधीसभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधिसभाका सदस्यहरुले आफुहरुमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन् । यसरी निर्वाचन गर्दा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानमा रहेको यहि व्यवस्था अनुसार तत्कालीन माओवादी केन्द्रको भागमा सभामुख पद परेको र सोहि अनुसार कृष्णबहादुर महरा सभामुख बन्नुभएको थियो भने तत्कालीन एमालेले शिवमाय तुम्बाहाम्फेलाई उपसभामुख बनाएको थियो । तर हाल दुइ पार्टी एक भएर नेकपा गठन भएको अवस्था र उपसभामुख नेकपाबाट प्रतिनिधित्व गर्ने भएकाले सभामुख को हुने भन्ने चर्चा सुरु भएको छ ।

संवैधानीक व्यवस्था अनुसार रिक्त रहेको सभामुख पदमा निर्वाचन गरि फरक दलको सभामुख हुनुपर्ने कांग्रेसका नेताहरु बताउँछन् ।

हाल संसदको चौथो अधिबेसन सकिएको र अर्को अधिबेसन तिहारपछ्री बस्ने भनिएपनि मिति तय भैसकेको छैन । त्यसैले पनि सभामुख जस्तो गरिमामय पदलाई नेतृत्वबिहिन बनाउन नसकिने भन्दै यसका लागी संसदको बिशेष अधिबेसन बोलाई सभामुखको निर्वाचन हुनुपर्ने माग प्रतीपक्षी दलको छ ।

सत्तापक्षका नेताहरु भने राज्यको महत्वपुर्ण अंगका रुपमा रहेको सभामुख पद अर्को दललाई दिएर उपसभामुख मात्र चित्त बुझाउन नसकिने बताउन थालेका छन् । उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन लगाई सभामुख बनाउनुपर्ने र उपसभामुख प्रमुख प्रतीपक्षीदल नेपाली कांग्रेसलाई दिनुपर्ने नेकपाका नेता रामनारायण बिडारीको सुझाब छ।

यसअघि प्रमुख प्रतीपक्षी दल लगाएतले सभामुख र उपसभामुख फरक फरक दलबाट हुनुपर्ने भन्दै सभामुख र उपसभामुख मध्य एक पद नेकपाले छाड्नुपर्ने माग गर्दै आएका थिए ।

तत्कालिन अवस्थामा सभामुख र उपसभामुख चयन हुँदाको बेला नेकपा एक भइनसकेकोले तत्कालिन एमाले र माओवादीले एक एक पद लिएका थिए । जब नेकपा गठन भयो त्यसपछि दुबै पद एउटै पार्टीको हुन पुग्यो ।

सभामुखले राजीनामा दिएपछि प्रमुख विपक्षी दलले अब सभामुखमा दाबी गर्ने देखिएको छ । तर संसदमा विपक्षी दल कमजोर अवस्थामा भएको हुँदा अब सभामुखको निर्वाचन कसरी होला ? र भावी सभामुख को बन्ला भन्नेमा सर्वत्र चासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);