एजेन्सी, १४ असोज । चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पुगेको अवसरमा बेइजिङमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । बेइजिङको तियानमेन स्क्वायरमा भएको कार्यक्रममा राष्ट्रपति सि चिन फिङले सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले चीन शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्ने बताउँदै चीनको विकासमा सहयोग गर्ने विश्वभरका मित्रलाई धन्यवाद् दिए । चिनियाँ राष्ट्रपति सीले चिनियाँ चरित्रको समाजवादको बाटोमा चीन अघि बढ्ने र पार्टीको आधारभुत सिद्धान्त र नीतिअनुसार अघि बढ्न समेत आह्वान गरे ।
उनले ऐतिहासक उपलब्धी र जनताको चाहनालाई नेतृत्वले पुरा गरेर नै छोड्ने समेत प्रतिवद्धता जनाएका छन् । सो अवसरमा अहिलेसम्मकै ठूलो सैनिक परेड देखाइनुका साथै चीनले आफूले बनाएका हतियारको पनि प्रदर्शन गरेको छ । चिनियाँ रक्षा मन्त्रालयले १५ हजार सेनाले परेड खेलेको र १ सय ६० वटा जहाज आकाशमा उडाइएको बताएको छ । कार्यक्रममा सहभागिताका लागि विभिन्न ९७ देशका १८८ मिलिटरी एट्याची बेइजिङ पुगेका थिए ।