मंसिर ३०, आइतबार
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ ।शनिबार दिउँसो १२ बजे चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन् ।
आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।उपचारकै क्रमा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले बताए । अब शव पोष्ट मार्टम परेर आफन्तलाई बुझाइने डीएसपी गोद्दारले बताए ।
घट्नास्थलबाट प्रहरीले कमलाकोृ सुसाइड नोट पनि बरामद गरेको छ । बरामद गरेको सुसाइड नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा मागेकी छन् । नोटमा लेखेकी छन्, ‘सरी बुढा ।’ कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गरेका छन् । उनीहरुले सञ्चालन गरेको केएण्डए स्टेशनरीबाट केही पर गएर उनले आगो लगाएकी हुन् । नोटमा पतिको नम्बर लेख्दै उनले भनेकी छन्– ‘मेरो श्रीमानलाई मेरो अवस्थाबारे खबर गरिदिनुहोला ।’
‘मैले श्रीमानलाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन’ उनको नोटमा लेखिएको छ, ‘म मरेको खबर श्रीमानलाई गरिदिनुहोला नम्बर यो हो ।’ बा।३५ प ५८१८ नम्बरको स्कुटरमा घटनास्थल पुगेकी उनले मिनरल वाटरको बोतलमा पेट्रोल लगेर छर्केको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । नोटमा उनले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छन् । नोटमा लेखिएको छ, ‘यो सबै मेरै कारण भएको हो ।’ आचार्य दम्पतीका १३ र ३ वर्षका बच्चा छन् ।




