ओली-सी भेटवार्ता आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओली-सी भेटवार्ता आज

nepal china

काठमाडौं, ६ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्दैछन्। भेटवार्तामा दुई पक्षीय हितका विभिन्न विषयमा छलफल हुने बताइएको छ।

बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपटकको भ्रमण पहिलो प्रधानमन्त्रीकालमा चीनसँग भएका सहमति/सम्झौताहरूको कार्यान्वयन अघि बढाउनेतर्फ केन्द्रित हुने छ।’ ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार साँझ ५ बजे चीनको राजधानी बेइजिङ आइपुगेका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुई र चीनस्थित नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङस्थित क्यापिटल अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

आफ्ना चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले दूतावासको कार्यक्रममा नेपाल र चीनको सबन्धबारे चर्चा गर्दै आफूहरू एक चीन नीतिमा स्पष्ट रहेको प्रस्ट पारेका थिए। स्वागत समारोहमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले चीनसँगको यातायात सञ्जाल विकास गर्ने मुद्दालाई उच्च प्राथामिकतामा राखेको बताए। ‘यातायात अर्थतन्त्रको मेरुदण्ड हो। विकासशील होस् वा विकासोन्मुख जुन कुनै देशका लागि विकास, समृद्धि र सामाजिक आर्थिक परिवर्तनका लागि यातायात सञ्जाल महत्वपूर्ण माध्यम हो। त्यसमा पनि रेलवे कनेक्टिभिटीको हाम्रो सन्दर्भमा ठूलो महत्व छ’, उनले भने, रेलवे कनेक्टिभिटीले अन्तराष्ट्रिय व्यापारको विविधिकरण र हाम्रो परनिर्भरता घटाउँछ। यसले पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकासका विभिन्न आयामको ढोका खोल्छ। त्यसकारण रेलवे कनेक्टिभिटीको सम्झौतालाई कार्यान्वयन गर्नेतर्फ अघि बढ्न यो भ्रमण फलदायी हुनेछ।’

प्रधानमन्त्री ओलीले सडक, रेललगायत कनेक्टिभिटीका विषयका अलावा पर्यटनको विकास, त्यसमा दुई देशले लिन सक्ने लाभ, कृषि, उद्योग, प्रविधि आदि विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने बताए। उनले चिनियाँ व्यापारी, उद्योगीहरूलाई नेपालमा लगानी गर्न आमन्त्रण समेत गरे। रात्रीभोज कार्यक्रममा व्यापारिक क्षेत्रको प्रतिनिधित्व गर्ने चिनियाँहरूको उपस्थिति रहेको थियो।
स्वागत समारोहको सम्बोधन चिनियाँ भाषामा सुरु गरेका प्रधानमन्त्री ओलीले चीन नेपालको भरपर्दो छिमेकी तथा मित्र राष्ट्र भएको बताए। प्रधानमन्त्री ओली भने, ‘चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको र नेपाल चीनको बृहत् योजनाअन्तर्गतको बीआरआई परियोजनामा आबद्ध भइसकेको हालको परिस्थितिमा हिमाल वारिपारिको सञ्जाल बलियो बनाउने मेरो प्रयास रहन्छ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले अघिल्लो भ्रमणमा भएका सन्धि सम्झौताको कार्यान्वयन र थप नयाँ सम्झौताहरू गरिने बताए। सम्झौताहरू देशको सर्वोपरी हित हेरेर मात्र गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए।
सन् २०१६ मा ओलीले चीन सरकारसँग १० बुँदे सहमति गरेका थिए। जसमा ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन, पारवहन लगायतका विषय बढाउने सहमति भएको थियो। दुई वर्षको अवधिमा उक्त सहमतिहरू कार्यान्वयनतर्फ बढ्न सकेका छैनन्।

चिनियाँ पक्षले सहमति अघि बढाउने सन्दर्भमा नेपाली पक्ष उदासीन भएको भनेर अनौपचारिक रूपमा असन्तुष्टि जनाइरहेका बेला ओलीले पुनः आफूले गरेका सम्झौता अघि बढाउन प्रतिबद्ध भएको दोहोर्‍याएका हुन्। प्रधानमन्त्रीको ओलीलाई स्वागत गर्न आयोजित कार्यक्रममा चीन भ्रमणमा रहेका नेपाली टोली बाहेक चिनियाँ उच्च अधिकारी, व्यापारी तथा लगानीकर्ताहरूको पनि उत्साहपूर्ण उपस्थिति रहेको थियो।

सो समारोहमा प्रधानमन्त्री ओलीले ‘लुक वी’ नामक पत्रिकाको पनि विमोचन गरेका छन् भने बेइजिङस्थित नेपाली दूतावासको आधिकारिक ‘विच्याट’को पनि शुभारम्भ गरेका छन्। विच्याट चीनमा सामाजिक सञ्जालको रूपमा ख्यातिप्राप्त रहेको छ। प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा नेपाल–चीनबीचको रेलमार्ग अध्ययन गर्ने, तिब्बतमा खाद्यान्न ढुवानीका निम्ति नेपालको ८ ठाउँमा नाका खुलाउने, दुई देशबीच भएका पुराना सहमति कार्यान्वयन गर्न दुवै देशको परराष्ट्र मन्त्रालयहरूबीच संयन्त्र निर्माण गर्ने विषयहरूमा हस्ताक्षर हुने बताइएको छ। प्रधानमन्त्रीको हैसियतमा ओलीको यो दोस्रो चीन भ्रमण हो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछियाङ लगायत चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वसँग दुई पक्षीय हितका विषयमा वार्ता गर्नेछन्। प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य र ४ मन्त्रीहरू सहितको ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी आइपुगेका हुन्। आजै प्रधानमन्त्री ओलीले चीनस्थित नेपाली समुदायलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);