काठमाडौं, ७ असोज । नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलमा भुटान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेल्दै भुटान समूह ’बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । दुई पटकको च्याम्पियन नेपाल भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा खेल सकियो । यो बराबरीसँगै समूह विजेता बनेको भुटानले २ खेलमा ४ अंक जोड्यो ।
पहिलो खेलमा भुटानले नेपाललाई ३–० ले हराएको थियो । यस्तै माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । माल्दिभ्सले २ खेलमा २ अंक जोड्यो ।
माल्दिभ्सले पहिलो खेलमा नेपालसँग १ –१ गोलको बराबरी खेलेको थियो । साविक विजेता समेत रहेको नेपालले भने २ खेलमा १ अंक जोड्यो । नेपाल समूहको पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।




