‘ग्र्याभिटी करेन्सी’का नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘ग्र्याभिटी करेन्सी’का नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी

डेढ दशकअघि गोल्डक्वेस्टको नाममा सुनको सिक्का बेच्ने नेटवर्किङ बिजनेसको जगजगी भयो, सुनको लेप भएको एक तोलाको सुनको सिक्का किनेर दशौँ हजारले करोडौँ डुबाएपछि मात्र पुष्टि भयो, यो त ठगी धन्दा हो । त्यहीवरिपरि आएको युनिटी र हर्बोले नेटवर्किङ बिजनेसका नाममा एक दशकसम्म राजधानीमै भव्य कार्यालय नै सञ्चालन गरेर दशौँ हजार नेपालीबाट करोडौँ रुपैयाँ ठगे । पत्रपत्रिकामा समाचार आउँदासमेत सदस्यहरूले सञ्चालकहरूलाई विश्वास गरिरहेका थिए । तिनका सञ्चालकको भागाभाग भएपछि सदस्यहरूले हामी त ठगिएछौँ भनेर थाहा पाए ।

अब अहिले आएको त ग्र्याभिटी क्वाइन । त्यसको न सिक्का छ, न कार्यालय नै । न नेपाल सरकारमा दर्ता छ न विश्वकै कुनै कुनामा । डलरको भाउमा नेपाली पैसा बुझाएपछि विक्रेताले क्वाइन दिन्छन्, तर हातमा होइन, तस्बिरका रूपमा इन्टरनेटमा । युजर नेम र पासवर्डका आधारमा क्रेताले आफ्नो सिक्का इन्टरनेटमा हेर्छ, दंग पर्छ र अरूलाई पनि सिफारिस गरेर त्यस्तै सिक्का किन्न लगाउँछ । क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा)का रूपमा भइरहेको यो ठगीमा अहिलेसम्म राज्यको ध्यान गएको छैन । त्यसैले सञ्चालकहरूले उनीहरूकै भाषामा १५ सयभन्दा बढी सर्वसाधारणबाट १५ करोडभन्दा बढी ठगिसकेका छन् । आफू नेपाल सरकार र राष्ट्र बैंकको नियमभन्दा बाहिर रहेकाले अझै धेरै कारोबार गर्ने उनीहरूकै दाबी छ ।

दाङका रूपेश दाहाललाई एक नजिकको साथीले बिट क्वाइनजस्तै ग्र्याभिटी क्वाइनमा लगानी गर्न सुझाब दिए । सुरुमा उनलाई विश्वास लागेन । तर, बिट क्वाइनको मूल्य रातारात बढेको र यो पनि त्यस्तै मुद्रा भएको विश्वास दिलाए, रूपेश लगानी गर्न तयार भए । उनले ६२ हजार रुपैयाँ तिरेर ५२५० क्वाइन किने । त्यति पैसा लगानी गरेबापत उनले युजर नेम र पासवर्ड प्राप्त गरे । लगानी गरेको अन्य केही प्रमाण उनीसँग छैन । तर, जब ग्र्याभिटी क्वाइन नक्कली रहेको र उनी ठगिएको थाहा पाए । उनले भने, ‘यी मान्छेहरू ठग हुन् कि भन्ने त मलाई पहिल्यै लागेको थियो ।’

यसरी नक्कली ग्र्याभिटी क्वाइनबाट ठगिने रूपेश मात्रै होइनन् । नेपालमा नक्कली क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) निर्माण गरी संगठित रूपमै ठगी भइरहेको छ । पछिल्लो समय विश्वमा प्रचलन बढिरहेको ‘बिट क्वाइन’लाई देखाएर त्यस्तै नक्कली क्रिप्टोकरेन्सी बनाई केही व्यक्तिले ठगी गरिरहेका हुन् । ठगहरूले ‘ग्र्याभिटी क्वाइन’ नामको भर्चुअल करेन्सी बनाएर बिक्री गरी ठगी गरिरहेको पत्ता लागेको हो । ग्र्याभिटी क्वाइन नेपाल राष्ट्र बैंक र नेपाल सरकारभन्दा पनि माथि रहेको गफ दिएर ठगहरूले सहरका पढे–लेखेकै मानिसलाई ठगी गरिरहेका छन् ।

यसअघि नेटवर्क मार्केटिङका माध्यमबाट ठगी गर्दै आएको हर्बो इन्टरनेसनल प्रालिमा काम गरेका केही व्यक्तिले नै ग्र्याभिटी क्वाइनमार्फत ठगी गरिरहेका हुन् । उनीहरूले सर्वसाधारणसँग कम्तीमा १५ करोड रुपैयाँ ठगी गरेको अनुमान छ । ‘बिट क्वाइन’ कम्प्युटरको प्रोग्रामिङका माध्यमबाट बनाइने भर्चुअल मुद्रा हो । यसको प्रयोग अहिले संसारका विकसित मुलुकमा भौतिक मुद्राको विकल्पका रूपमा बढ्दै गएको छ । नेपालमा ‘ग्र्याभिटी क्वाइन’ बिक्री गरी ठग्नेले सर्वसाधारणसँग बिट क्वाइनको व्याख्या गर्ने तथा यो पनि त्यस्तै अर्को करेन्सी हो भनेर आफ्नो नक्कली मुद्रा बेच्ने गरेका छन् ।

ठगहरूले न्यूनतम सय डलरदेखि, २००, ५००, २५०० र १५ हजार डलरको प्याकेजमा ग्र्याभिटी क्वाइन बिक्री गर्ने गरेका छन् । विश्वमा बिट क्वाइनजस्तै क्रिप्टोकरेन्सीको संख्या सयौँको संख्यामा छ । ती करेन्सीको मूल्य अन्तर्राष्ट्रिय क्रिप्टोकरेन्सी बजारमा भएको माग र आपूर्तिका आधारमा तय हुने गर्छ । तर, यो ग्र्याभिटी क्वाइन अन्तर्राष्ट्रिय व्यापारमा गएकै छैन । तर पनि यसको वेबसाइटमा दिनमा पटक–पटक मूल्य तलमाथि भएको देखाइन्छ, जुन शतप्रतिशत झुट हो । ग्र्याभिटी क्वाइन सुरुमा बिक्री गर्दा प्रतिक्वाइन मूल्य १० सेन्ट रहेकोमा अहिले ४४ देखि ५० सेन्टका बीचमा रहेको छ । आइतबार राति ग्राभिटी क्वाइनको मूल्य शून्य दशमलव ४३२ सेन्ट (नेपाली ४४ रुपैयाँ) रहेको छ ।

ठगहरूले हालसम्म नेपाल तथा विदेशमा भएका नेपालीबाट १५ करोडभन्दा धेरै रकम असुलिसकेको उनीहरूकै भनाइबाट पुष्टि हुन्छ । ग्र्याभिटी क्यासका मार्केटिङ प्रमुख जिपी पौडेलका अनुसार उनीहरूले हालसम्म विभिन्न प्याकेजमा गरेर १५ सयभन्दा धेरैलाई ग्राहक बनाइसकेका छन् । यिनीहरूले न्यूनतम २०० डलरको र मध्यम २५०० डलरको प्याकेजमा धेरै कारोबार गर्ने गरेका छन् । औसत हजार डलरका दरले १५ सय मानिससँग पैसा उठाउँदा १५ करोड रुपैयाँ हुन आउँछ ।

कुल ३ करोड ६० लाख ग्र्याभिटी क्वाइन माइनिङ हुने र त्यसमध्ये १ करोड ८० लाख माइनिङ भइसकेको पौडेलले जनाए । तर, ग्र्याभिटी क्वाइनकै मार्केटिङ गरिरहेका माधव खनाल भने जम्मा ३२ लाख क्वाइन माइन हुने बताउँछन् । यसरी कति क्वाइन माइन हुन्छ भन्नेबारेमा फरक व्यक्तिले फरक–फरक बताउने गरेका छन् । यसको कारोबारमा नेपालमा रहेका धेरै र केही विदेशमा रहेका नेपाली पनि रहेको उनीहरू नै बताउँछन् ।

किन नक्कली हो ग्र्याभिटी क्वाइन ?

ग्र्याभिटी क्वाइन नेपाली सफ्टवेयर इन्जिनियरले कम्प्युटर प्रोग्रामिङ गरेर बनाएको नक्कली क्रिप्टोकरेन्सी हो । ग्र्याभिटी क्वाइनको वेबसाइटमा यो क्वाइनको विकास निकेल भिन्सेन्टले गरेको उल्लेख छ । तर, निकेल भिन्सेन्ट भन्ने कुनै व्यक्ति नै छैनन् । ती व्यक्ति नेपाली सफ्टवेयर इन्जिनियर कृष्ण झा भएको स्रोतको भनाइ छ । उनी काठमाडौंको बानेश्वरमा रहेको इप्लानेट सफ्टवेयर कम्पनीसँग आबद्ध छन् । निकेल कृष्णको ‘निकनेम’ हो । उनले आफ्नो निकनेममा भिन्सेन्ट काल्पनिक थर राखेर आफूलाई सो क्वाइनको विकासकर्ताका रूपमा प्रस्तुत गरेका छन् । इप्लानेटको मुख्य कार्यालय मलेसियामा छ भने नेपाल र भारतको नयाँदिल्लीमा शाखा कार्यालय छन् ।

ग्र्याभिटी क्वाइनसँग सम्बन्धित तीनवटा वेबसाइट छन् ।  क्रिप्टोकरेन्सी सामान्यतया तीन प्रकारका हुन्छन्– प्रुफ अफ स्टेक (पिओएस), प्रुफ अफ वर्क (पिओडब्लू) र हाइब्रिड । पिओएस क्रिप्टोकरेन्सीहरू जति परिमाणमा माइन हुने हो, पहिल्यै माइन भइसकेको हुन्छ । पिओडब्लू करेन्सीहरू माइन हुने परिमाण निश्चित समयसम्म माइन भइरहन्छ भन्ने गरिन्छ । हाइब्रिड करेन्सीचाहिँ केही परिमाण माइन भइसकेको हुन्छ, बाँँकी माइन भइरहेको हुन्छ । ग्र्याभिटी क्वाइनको वेबसाइटमा यो कस्तो करेन्सी हो स्पष्ट छैन । क्रिप्टो एजुकेसन शीर्षकमा पिओडब्लूका विषयमा जानकारी दिइएको छ, जसले यो क्वाइन पनि त्यही प्रकृतिको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, क्वाइनको मार्केटिङ गर्नेमध्येका एक पौडेल १ करोड ८० लाख क्वाइनहरू माइन भइसकेको बताउँछन् । तर, यो क्वाइन पिओएस वा पिओडब्लू के हो भन्ने विषयमा उनले बताउन सकेनन् । यसले पनि यो क्वाइन फेक रहेको प्रमाणित गर्छ ।

नक्कली अफिस

ग्र्याभिटी क्वाइनको आधिकारिक वेबसाइट भनिएको ग्र्याभिटीक्यासडटकमका अनुसार यसको अफिस एभेन्यु सुइट– १५०० न्युयोर्क १०००१, अमेरिकामा छ । तर, यो ठेगानामा ग्र्याभिटी क्वाइनको होइन, एस्क्ट्रिम ग्लोबल युएसएको कार्यालय छ । यो कम्पनीलाई हामीले ‘तपाईंहरू ग्र्याभिटी क्वाइनसँग सम्बन्धित हो ?’ भनी सोध्दा उनीहरूले आफूहरूलाई यो क्वाइनबारे जानकारी नभएको जानकारी दिए । एक्स्ट्रिम ग्लोबलसँगको सम्पर्कमा उसले यो एक इकमर्स कम्पनी भएको पनि जानकारी दियो । सो कार्यालय नक्कली भएको सन्दर्भमा पौडेललाई सोध्दा उनले आफूलाई यसबारेमा केही जानकारी नभएको बताए ।

के हो बिटक्वाइन ?

अहिले संसारको सबैभन्दा बलियो वा मूल्यवान मुद्रा कुवेती दिनार हो । १ कुवेती दिनारको ३.२७ अमेरिकी डलर विनिमयदर छ । तर, संसारमा यस्तो अर्को मुद्रा पनि छ, जसको १ युनिटबराबर ४ हजार १ सय ९३ दशमलव २७ डलर विनिमयदर छ । त्यो हो– बिटक्वाइन । र, यो यस्तो मुद्रा हो, जसको प्रयोगमा व्यापकता आउँदा भौतिक मुद्राहरू विस्थापन हुन सक्ने मौद्रिक अर्थशास्त्रीहरू बताउँछन् ।

इतिहासमा वस्तु विनिमय (बार्टर) प्रणालीलाई सुनको प्रयोगले विस्थापन गरेको थियो । भौतिक मुद्राको थालनी भएपछि वस्तु विनिमय प्रणाली पूर्ण रूपमा विस्थापन भयो, खरिद–बिक्रीमा सुनको प्रयोग पनि अन्त्य भयो । अब संसारभरिका मानिसहरूको जीवनको अभिन्न अंग बनिसकेको भौतिक मुद्रालाई चुनौती दिन विद्युतीय मुद्रा (डिजिटल करेन्सी) को प्रयोगले व्यापकता पाउन थालेको छ । र, यसको प्रयोग बढ्दै जाँदा हाल प्रचलनमा रहेका मुद्रा नै विस्थापन हुन सक्नेमा विश्वभरका सरकार र केन्द्रीय बैंकहरू चिन्तित छन् ।

कसरी चल्छ ?

बिटक्वाइन अरूजस्तो भौतिक मुद्रा होइन । यो भर्चुअल अर्थात् अनलाइन मुद्रा हो । तस्बिरहरूमा देखिने बिटक्वाइनको सिक्का भौतिक मुद्राको सिक्काजस्तो होइन । त्यो सिक्काभित्र एउटा निजी कोड हुन्छ, त्यो कोडकै आधारमा बिटक्वाइन चल्ने हो । यदि त्यो कोड भएन भने बिटक्वाइनको कुनै अर्थ हुँदैन । तपाईं यो मुद्रा विभिन्न वस्तु तथा सेवा खरिद गर्न प्रयोग गर्न सक्नुहुन्छ ।

बिटक्वाइनजस्ता डिजिटल मुद्रालाई ‘क्रिप्टोकरेन्सी’ भनिन्छ । संसारभरि व्यापक प्रचलनमा रहेको मुद्रा अमेरिकी डलर भनेजस्तै क्रिप्टोकरेन्सीमध्ये सबैभन्दा पहिलो र प्रचलित मुद्रा बिटक्वाइन हो । संसारमा यस्ता क्रिप्टोकरेन्सीहरू सयौँ बनिसकेका छन्, तीमध्ये इथेरम, रिपल, लिटक्वाइन, मोनेरोलगायत बढी विश्वासिला र बढी कारोबार हुनेमा पर्छन् ।

क्रिप्टोकरेन्सी वास्तवमा एउटा कम्प्युटर फाइल हो, जुन कम्प्युटर वा मोबाइलको एप्लिकेसनमा रहने ‘डिजिटल वालेट’मा भण्डारण गरिन्छ । मानिसहरूले त्यो वालेटमा रहेको क्रिप्टोकरेन्सी वा त्यसको कुनै हिस्सा कुनै वस्तु वा सेवा खरिद गरेपछि भुक्तानीका लागि पठाउन सक्छन् । एकजनाको वालेटबाट अर्को मानिसको वालेटमा पनि यो पठाउन मिल्छ । यसरी गरेको हरेक कारोबार एउटा सार्वजनिक लिस्टमा रेकर्ड हुन्छ ।

कसरी बन्छ क्रिप्टोकरेन्सी

एउटा जटिल कम्प्युटर प्रोग्रामका माध्यमबाट क्रिप्टोकरेन्सी बनाउन पनि सकिन्छ, जसलाई माइनिङ भनिन्छ । क्रिप्टोकरेन्सीको माइनिङ कम्प्युटर सिस्टमद्वारा गरिने जटिल प्रक्रिया हो । त्यसका लागि कम्प्युटर प्रोसेसलाई सबै मानिसको पहुँच स्थापित हुन सक्ने बनाउनुपर्छ । क्रिप्टोकरेन्सी माइनिङ गर्न अत्यन्तै कठिन सूत्रबाट काम गर्ने कम्प्युटर सिस्टम आवश्यक पर्छ । क्रिप्टोकरेन्सी माइनिङ गर्ने कम्प्युटर अत्यन्तै शक्तिशाली हुन्छ । ती सूत्रहरूबाट प्रोसेस गर्दा सीमित मानिसहरूले सीमित संख्याको क्रिप्टोकरेन्सी प्राप्त गर्न सक्छन् । धेरै क्रिप्टोकरेन्सी उत्पादन नहोस् भनेर यस्ता सूत्रहरू झन्झन् जटिल हुँदै जान्छन् । कहिलेकाहीँ तपाईंले माइनिङ गर्न थालेको वर्षौँसम्म पनि क्रिप्टोकरेन्सी प्राप्त गर्न सकिँदैन । त्यसवेलासम्म प्राप्त गरेको क्रिप्टोकरेन्सीको मूल्यभन्दा कम्प्युटरका लागि पैसा, बत्ती आदिको खर्च बढी हुन सक्छ ।

क्रिप्टोकरेन्सी कसरी प्राप्त गर्न सकिन्छ ?

विशेषगरी तीन तरिकाले क्रिप्टोकरेन्सी प्राप्त गर्न सकिन्छ । पहिलो अन्य भौतिक मुद्राहरू अमेरिकी डलर, युरो आदि खर्च गरेर क्रिप्टोकरेन्सी खरिद गर्न सकिन्छ । वा कुनै वस्तु वा सेवा बेच्दा कसैले बिटक्वाइनमा भुक्तानी गर्‍यो र त्यसलाई स्वीकार गरियो भने क्रिप्टोकरेन्सी प्राप्त हुन्छ । माइनिङमार्फत पनि क्रिप्टोकरेन्सी प्राप्त गर्न सकिन्छ ।

बिटक्वाइन किन मूल्यवान बन्दै गइरहेको छ ?

पछिल्लो समय संसारभरि बिटक्वाइन खरिद गर्न चाहने मानिसको संख्या बढिरहेको छ । संसारमा धेरै डिजिटल करेन्सी एक्सचेन्ज स्थापना भएका छन्, जहाँ बिटक्वाइन तथा अन्य विद्युतीय मुद्राको कारोबार हुन्छ । यसको कारोबार डलरलगायत विदेशी मुद्रा, कमोडिटी तथा स्टक मार्केटको जस्तै गरी भइरहेको छ । पछिल्लो समय चीनमा बिटक्वाइनको माग अत्यधिक भएको मानिन्छ । सन् २०१६ मा चिनियाँ युआनको मूल्य ७ प्रतिशतले घट्यो भने बिटक्वाइनको मूल्य १ सय २५ प्रतिशतले बढ्यो । बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीहरू भौतिक मुद्राजस्तो विश्वका कुनै पनि केन्द्रीय बैंकले जारी गरेको होइन र त्यसको नियन्त्रण पनि कुनै सरकारी निकायले गर्दैन । यो त एउटा सार्वजनिक कम्प्युटर प्रणालीद्वारा जोसुकैले पनि माइनिङ गर्न सक्छ । र, बजारको माग र आपूर्तिका आधारमा यसको मूल्य तय हुन्छ ।

बिटक्वाइन कति सुरक्षित

बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीका सबै कारोबारको रेकर्ड राखिन्छ । तर, बिटक्वाइनको कपी गर्न, जाली क्वाइन बनाउन वा अरूको स्वामित्वमा भएको क्वाइन खर्च गर्न अत्यन्तै कठिन छ, लगभग असम्भवजस्तै छ । अनलाइन खाता नम्बर नभनेसम्म अन्य कसैले पनि थाहा पाउँदैनन् । यद्यपि, कहिलेकाहीँ डिजिटल वालेटबाट बिटक्वाइन हराउने, डिलिट भएर सधैँका लागि गुमाउनुपर्ने अवस्था भने भएका छन् ।

यसरी गरिन्छ कारोबार

—ग्र्याभिटी क्यास र बिट क्वाइनले क्रिप्टोकरेन्सीको माइनिङ (उत्पादन) गर्न एकै प्रकारको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस
(एपिआई) प्रयोग गरेको जिपी पौडेल बताउँछन् । ग्र्याभिटी क्वाइन बिक्री गर्नेले लगानीकर्तासँग नेपाली रुपैयाँ नै उठाउने गरेका छन् । सो रकम हुन्डीको माध्यमबाट बाहिर पठाउने र डलर कार्डमा ट्रान्सफर गरी सोही कार्डमार्फत ग्र्याभिटी क्वाइन खरिद गर्ने गरेको उनीहरूको भनाइ छ । क्वाइन कारोबारका लागि क्वाइन वालेट तयार गरिन्छ । र, सोही वालेटमा ग्र्याभिटी क्वाइन जम्मा गर्ने उनीहरू बताउँछन् । त्यही वालेटका माध्यमबाट क्वाइनको खरिदबिक्री गर्ने गर्छन् । वालेटको युजर नेम र पासवर्ड लगानीकर्ताले पाउँछन् ।

—ग्र्याभिटी क्वाइन नेपालमै नक्कली रूपमा बनाइएकाले खरिदबापत बाहिर कसैलाई पनि भुक्तानी गर्नुपर्दैन, त्यसैले यहाँ लगानीकर्ताबाट उठाएको रकम जिपीलगायतको खल्तीमा पुग्ने गर्छ । उनीहरूले प्रतिक्वाइन ४० देखि ५० रुपैयाँको बीचमा रकम उठाउँछन् । खरिदमा केही सेवाशुल्कसमेत उठाउने गरेका छन् ।

—आइतबार साँझ नयाँ पत्रिकाले ‘नेपालमा कतिलाई ग्र्याभिटी क्वाइन बेच्नुभयो, कोट दिनुस्’ भनी प्रश्न गर्दा पौडेलले सुरुमा ग्र्याभिटी क्वाइन फेक नभएको बताए । ‘तपाईं ग्र्याभिटी क्वाइनको नेपालको प्रमुख मान्छे हो ?’ भन्दा उनले त्यसो नभएको बताए । तर, ग्र्याभिटी क्वाइनमा नेपालमा सबैभन्दा धेरै काम आफूले नै गरेको र त्यसमा केही तलमाथि हुँदा आफूलाई नै सीधा असर गर्ने उनले बताए । यदि ‘ग्र्याभिटी क्वाइनको समाचार छापियो र आफ्नो नामसमेत समाचारमा प¥यो भने जे पनि गर्नसक्ने’ धम्कीसमेत हामीलाई उनले दिए ।

को हुन् ठग ?

नेपालमा ग्र्याभिटी क्वाइनको मार्केटिङ ज्ञानप्रसाद (जिपी) पौडेलले गर्दै आएका छन् । नेटवर्क मार्केटिङ कम्पनी हर्बो इन्टरनेसनलमा काम गरेका पौडेलले हर्बो बन्द भएपछि समाज सहकारीको प्रबन्धक भएर पनि काम गरेका छन् । त्यसबीचमा पौडेलले ग्लोबल करेन्सी रिजर्भ (जिसिआर) नामक क्रिप्टोकरेन्सी बेचेर पनि ठगी गरेका थिए । जिसिआर आफैँ बन्द भएपछि भने आफैँले फेक करेन्सी उत्पादन गरी ठगीमा लागेका हुन् । जिपीसँगै मार्केटिङमा माधव खनाल पनि संलग्न छन् । आफूलाई गोर्खा इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक बताउने उनी पूर्वपत्रकारसमेत भएको सुनाउँछन् । जिपी र माधव दुवै हर्बोका उत्पादन हुन् ।

किन नक्कली हो ग्र्याभिटी क्वाइन ?

ग्र्याभिटी क्वाइन नेपाली सफ्टवेयर इन्जिनियरले कम्प्युटर प्रोग्रामिङ गरेर बनाएको नक्कली क्रिप्टोकरेन्सी हो । ग्र्याभिटी क्वाइनको वेबसाइटमा यो क्वाइनको विकास निकेल भिन्सेन्टले गरेको उल्लेख छ । तर, निकेल भिन्सेन्ट भन्ने कुनै व्यक्ति नै छैनन् । ती व्यक्ति नेपाली सफ्टवेयर इन्जिनियर कृष्ण झा भएको स्रोतको भनाइ छ । उनी काठमाडौंको बानेश्वरमा रहेको इप्लानेट सफ्टवेयर कम्पनीसँग आबद्ध छन् । निकेल कृष्णको ‘निकनेम’ हो । उनले आफ्नो निकनेममा भिन्सेन्ट काल्पनिक थर राखेर आफूलाई सो क्वाइनको विकासकर्ताका रूपमा प्रस्तुत गरेका छन् । इप्लानेटको मुख्य कार्यालय मलेसियामा छ भने नेपाल र भारतको नयाँदिल्लीमा शाखा कार्यालय छन् ।

जनार्दन बराल, उमेश पौडेले नयाँ पत्रिकामा खवर लेखेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);