नेपालमा बस्दै आएका बर्मेली शरणार्थी भन्छन्, 'आफ्नै देश फर्किने रहर छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा बस्दै आएका बर्मेली शरणार्थी भन्छन्, ‘आफ्नै देश फर्किने रहर छ’

काठमाडौं, २६ भदौ । कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ । हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ- ‘आफ्नो देश फर्कन पाऊँ ।’ तर, म्यानमार (बर्मा)मा हरेक दिन हिंसा बढ्दो छ । रोहिंग्या मुस्लिम समुदाय हरेक दिन देशबाट लखेटिइरहेका छन् । त्यसको असर नेपालस्थित रोहिंग्या शरणार्थी शिविरमा देखिन थालेको छ । ‘बर्मामा हिंसा चर्किएको एक महिनाअघि मात्र शरणार्थी शिविरमा १३ जना थपिए’, चार वर्षयता शिविरमा बस्दै आएका शरणार्थी रफिक आलम भन्छन् । तर, संयुक्त राष्ट्रसंघीय निकाय यूएनएचसीआरको रेकर्डले भन्छ, ‘बर्मामा हिंसा बढेपछि तत्काल कुनै पनि शरणार्थी नेपाल आएका छैनन् ।’

४० दिनअघि नेपाल आएका शरणार्थी सइदुला मिन बोल्दा-बोल्दै भक्कानिए । उनी सबै आफन्त उतै छाडेर नेपाल आएका हुन् । घरभित्रै थुनिएका थिए, वृद्ध बुबाआमा । परिवारका सम्पूर्ण सदस्य थुनिएर भित्रै जले । उनी भने भाग्न सफल भए । म्यानमारबाट पानीमा पौडिएर बंगलादेश पुगे । अहिले उनी नेपालको शिविरमा दिनभर टोलाएर बस्छन् । अर्का शरणार्थी अबुथ कर भन्छन्, ‘हामीले खाइरहेको बेला उनी आउँछन् । खान दिए अलिकति खान्छन् । नभए भोकै बस्छन् ।’

आइतबार शिविरमा भेटिएका उनीहरूले शरीरमा भएका गोलीका दाग देखाउन थाले । सिमानामा उनीहरूलाई गोली दागियो । कति त त्यहीं ढले । दाग कसैको हातमा छ कसैको पेटमा । उनीहरूको दाबी छ, ‘आठ सय वर्षदेखि हाम्रा पुर्खा बर्मामा बस्दै आएका हुन् ।’ यूएनएचसीआरले उनीहरूलाई केही समय आर्थिक सहयोग गर्‍यो । घरमूलीलाई पाँच हजार तीन सय ५०, श्रीमतीलाई तीन हजार पाँच सय र बालबालिकालाई दुई हजार सात सय रुपैयाँका दरले मासिक सहयोग गर्‍यो । सन् २०१२ देखि नेपालमा बस्न थालेका उनीहरूले २०१४ सम्म सहयोग पाए । त्यसबाटै उनीहरूको गुजारा चल्थ्यो । त्यसपछि उनीहरूले कुनै सहयोग पाएनन् । अबुथ करले आफ्नो परिवारबाट १४ हजार रुपैयाँ पाउँथे । आर्थिक सहयोग रोकिएपछि अहिले उनीहरूलाई जीवन धान्न गाह्रो भएको छ ।

बर्मामा हुँदा कृषि पेसा अँगालेका उनीहरूले काठमाडौंमा केही काम पाएनन् । ‘हामीलाई सिमेन्टको काम गर्न आउँदैन । हेल्पर बन्ने हो’, अबुथ कर भन्छन् । त्यसबापत दिनमा तीन सयदेखि चार सय रुपैयाँसम्म कमाइ हुन्छ । उनीहरू बाँच्ने आधार त्यही कमाइ भएको छ । उनीहरूले वार्षिक एक लाख ४५ हजार रुपैयाँमा जग्गा भाडा लिएर शिविर खडा गरेका हुन् । प्रत्येक परिवारबाट उठाएर तिर्नुपर्ने जग्गा भाडा अब कसरी तिर्ने भन्ने अर्को आपत् आइपरेको छ । श्रहामीले खाने इनारको पानी यति फोहोर छ कि यो पानीले त हजुरहरू दिसा धुन पनि घिन मान्नुहुन्छ ।

बंगलादेश र भारतका विभिन्न स्थानमा बस्दा असुरक्षित महसुस गरेका उनीहरूले यहाँ भने सुरक्षित महसुस गरेका छन् । ‘भोकै बस्नुपरे पनि हामीलाई यहाँ राम्रो छ’, २९ वर्षीय रफिद आलम भन्छन्, ‘मेरा बूढी र दुई छोरी मसँग छन् । आमा-बुबा, दुई भाइ र बहिनीलाई ल्याउन सकिनँ । उनीहरू बंगलादेशसम्म आइपुगेका छन् । कसरी ल्याउने थाहा छैन । हामीलाई उपत्यका कटेर जान अनुमति छैन ।’

अबुथ कर गाई, भैंसी सबै जलेको सुनाउँछन् । ‘हाम्र्रो त्यहाँ ६०-६५ बिगाहा जमिन थियो’, उनी भन्छन्, ‘एकजना महिलालाई १२ जनासम्मले बलात्कार गरे।’

हिंसाको असर नेपालसम्मै

म्यानमार हिंसाको असर नेपालसम्मै आइसक्यो । तर, बर्मेली कूटनीतिज्ञ तथा नोबेल पुरस्कार विजेता आङसान सुकीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएकी छन्, ‘मुस्लिम रोहिंग्यामाथि कुनै प्रकारको अन्याय भएको छैन । यो म्यानमारलाई बदनाम गर्ने दुस्प्रचार मात्र हो ।’ सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाएकी सुकीको पछिल्लो भनाइको चौतर्फी विरोध भइरहको छ ।

यूएनएचसीआरले पछिल्लो दुई सातामा म्यानमारबाट करिब दुई लाख ७० हजार रोहिंग्या समुदाय पलायन भएको जनाएको छ । बंगलादेशतर्फ लागेपछि उनीहरूको अवस्था नाजुक भएको बताइएको छ । बंगलादेशका शिविरहरूमा शरणार्थी थपिने क्रम जारी छ । त्यहाँ आउने शरणार्थीमध्ये धेरैजसो महिला छन् । नवजात शिशुसहित आएका उनीहरू भोकले तड्पिरहेका छन् । भागेर आउनेहरू तीन लाख पुगेको अनुमान राष्ट्रसंघको छ ।

म्यानमारको सरकारी पक्षले भने गत वर्ष अक्टोबरमा भएको आतंकवादी हमलाविरुद्ध उक्त स्थानमा प्रहरी र सेनाले अभियान मात्र चलाएको जनाएको छ । सरकारी अधिकारीले रोहिंग्याले अर्को धर्मका अनुयायीको हत्या गरेको आरोप लगाएका छन् ।

लखेटिएर नेपालमा

१६ महिनाअघि म्यानमारबाट लखेटिएर नेपाल पस्नु नपरेको भए सैदल हक आफ्नै मुलुकको कलेजमा पढिरहेका हुन्थे होलान् । तर, २० वर्षकै उमेरमा देशबाट खेदिएका उनको जिन्दगीले अर्कै लय समातिसकेको छ । कापी, कलम समात्नुपर्ने हातले उनी अहिले खस्रा बालुवा चालिरहेका वा गिट्टी कुटिरहेका छन्।

विभिन्न चरणमा भागेर नेपाल पसेका शरणार्थीले भरिएको छ, कपन, बालुवाखानीको एउटा हिस्सा । बालुवाखानी, राममन्दिरनेर शरणार्थी बालबालिका, बूढाबूढी र ठिटाठिटी गरी तीन सय १२ जनाले बस्ती बसाएका छन् । डेढ वर्ष पुगेकी छोरी रोमालाई काखमा खेलाउँदै सैदल हकले भने, ‘ड्याडी-ममीले डाक्टर बनाउने सोच्नुभएको थियो । तर, १० कक्षा पढ्दै लखेटिनुपर्‍यो ।’ अहिले त उनलाई बुबाआमा कहाँ छन् भन्ने पनि थाहा छैन । म्यानमारमा भड्किएको द्वन्द्वले उनको परिवार छिन्नभिन्न भएको छ । चारजना दाजुभाइ, पाँच दिदीबहिनी पनि कहाँ छन् भन्ने पत्तो छैन । ‘जिउँदै छन् कि मरे ? कुनै खबर छैन’, उनी भन्छन् । बर्मामा बस्न नसकेपछि उनी गर्भवती श्रीमती लिएर भागे । बिहे गरेको तीन महिनापछि उनले श्रीमतीसहित देश छाडेका हुन् ।

अनुहार ठ्याक्कै नेपाली देखिने हक ‘नेपाली’ बोल्न सक्छन् । उनले यतै आएपछि नेपाली सिकेका हुन् । ‘एकजना साह्रै मिल्ने नेपाली साथी छ’, उनी भन्छन्, ‘उसले नै सिकाएको ।’ म्यानमारको आर्कान स्टेटको सानो गाउँबाट भागेर नेपाल पसेका उनको पूर्वकथा बडो दर्दनाक छ । सरकारी सेना र बौद्ध समुदायले हकको घरमा आगो लगाए । घरबाट स्कुलको दूरी टाढा थियो । स्कुलनजिकै डेरा लिएर बस्थे हक । त्यस दिन स्कुलबाट छुट्टीमा घर आएका थिए । बाटोमा सरकारी सेनाले समात्यो । उनले केप्रा (नागरिकता) देखाए ।

रोहिंग्या मुस्लिम भन्नेबित्तिकै थानामा पुर्‍यायो । पाँच लाख ७५ हजार स्थानीय रकम तिरेर उनलाई बुबाआमाले घर फिर्ता गरे । त्यसपछि उनको स्कुल छुट्यो । गाउँमा केटाहरू देख्यो कि समातिहाल्थे सेना । सेनाले घर जलाउनेदेखि बलात्कारसम्म गर्न थालेपछि उनले देश छोडे । ५० हजार बर्मेली पैसा बोकेर हिँडेका उनी बंगलादेश, कोलकाता हुँदै विराटनगरबाट नेपाल पसे । यहाँ आएछि मात्र उनलाई सुरक्षित महसुस भयो रे । पाँच वर्षदेखि शरणार्थी शिविरमा सैदल पनि मिसिए । कापी, कलम समाउनुपर्ने उनका हातले खस्रो बालुवा चाल्न थाले ।
कपन शिविर ८६ परिवार

शिविरमा विभिन्न चरणमा रोहिंग्याहरू थपिँदै थए । अहिले शिविरमा घुइँचो छ । शिविरमा ८६ वर्षका वृद्धदेखि एक वर्षका बालबालिकासम्म छन् । ८६ घरपरिवार छन् । शिविरमा जस्ताले छाएका, फोहोर कपडाले बेरिएका टहरा लहरै उभिएका छन् । हिँड्ने करिडोरमा हिलो छ । शिविरमा अँध्यारो व्याप्त छ । साना नानीहरू नांगै वरिपरि दौडिरहेका छन् । टाउकोमा सेतो जाली टोपी लगाएका, सेता लुगा र धोतीमा पुरुषहरू यताउता गरिरहेका छन् । बुर्का लगाएका महिला ढोकाछेउ टुक्रुक्क बसेर हातमा कुरुस खेलाइरहेका छन् ।

शिविरबाट निकै तल एउटा इनार छ । त्यही इनार हो, जहाँबाट सम्पूर्ण शिविरवासी पानी खान्छन् । ‘हेर्नुस् सर, हामीले खाने इनारको पानी यति फोहोर छ कि यो पानीले त हजुरहरू दिसा धुन पनि घिन मान्नुहुन्छ,’ सैदल हक भन्छन् । उनका अनुसार फोहोर पानी खाएका कारण शरणार्थीहरू बिरामी परेका छन् । ज्वरो आउनु, पेटमा समस्या हुनु, टाउको दुख्नु, रुघा लाग्नु शिविरमा सामान्य हुन्छ । औषधि नपाएर उनीहरू झनै पीडित छन् । सैदल पनि त्यही पानी खाएर टाउको दुख्ने, रुघा लाग्ने समस्याबाट पीडित छन् । शिविरको जीवन निकै कष्टकर छ ।

पर्खाइको कुनै टुंगो छैन । म्यानमारमा हिंसा झनै बढ्दो छ न त शिविरको जीवन सहज छ । अभाव, अनिश्चय र असन्तोष छ यहाँ । टहराबाट बर्खामा पानी चुहिन्छ । आठ सय वर्षदेखि बस्दै आएको देश छाड्नुपर्दा उनीहरूमा कति बेचैनी र पीडा होला ? यो नाप्ने कुनै यन्त्र छैन । मक्किएका काठमा ठडिएका टहराछेउ उदास बसिरहेका उनीहरूका अनुहारमा पोतिएको रंग दुःखका चिह्न हुन् । घर हुनुको सुख छाडेर, घर फर्कने सपना देख्दै दुःख र अनिश्चयमा बर्मा फर्किन पाउने आसमा उनीहरू जीर्ण शिविर कुरी बसेका छन् ।

‘म्यानमार फर्किने आशामा छु । देशमा शान्ति घोषणा होस्, भोलि नै फर्किन्छु’, सैदल हक र रफिक आलम भन्छन् । सन् २०१२ मा बौद्ध धर्मावलम्बीले म्यानमारमा रोहिंग्या समुदायमाथि आक्रमण गरी हिंसा सुरु गरेपछि आर्कान जिल्ला मंडुका अबुथ कर चार परिवारसहित नेपाल पसेका हुन् । उनी चार वर्षदेखि शिविरमा छन् । उनका अनुसार बुद्धिस्टले १३ सय घरमा आगो लगाए । ‘म जलिरहेको घरबाट परिवारसहित भागेको हुँ’, उनी भन्छन् । त्यहाँबाट भागेर बंगलादेश पुगेका उनी दुई महिना बंगलादेश, तीन महिना भारतमा मजदुरी गरेर नेपाल पसेका रहेछन् । म्यानमारमा उनका तीनवटा किराना पसल थिए । नेपाल नै किन ? उनी भन्छन्, ‘यत्तिको शान्त देश अरू देखेको छैन । यहाँ हामीलाई नेपालीले पनि राम्रो व्यवहार गरेका छन् ।’

दीपक सापकोटा र राजु स्याङ्तानले अन्नपूर्ण पोष्टमा खवर लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);