शिविरमा रहेका बालबालिका सँगसँगै तेस्रो देश पुनर्वास भएका शरणार्थी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शिविरमा रहेका बालबालिका सँगसँगै तेस्रो देश पुनर्वास भएका शरणार्थी

झापा । झापाको दमक र मोरङको पथरीशनिश्चरेमा छन्, भुटानी शरणार्थी । एक लाख १३ हजार बढी भुटानी शरणार्थी पुनर्वास भएपछि झापा र मोरङमा रहेका सातवटा शिविर एकीकृत भएर अहिले दुईवटामा परिणत भएका छन् । यी दुई शिविरमा हाल ६ हजार तीन सय बराबर भुटानी शरणार्थी बसोबास गर्छन् । यीसँगै दर्ताविहीन, शरणार्थी परिचयपत्र पाउनबाट छुटेका पनि शिविरमा बसोबास गर्दै आएका छन् । विभिन्न कारणले पुनर्वासमा छुटेका, स्वदेश फर्कनलाई पुनर्वासमा नगएका र नेपालमै बस्ने इच्छा भएका शरणार्थी यहाँ छन् । तर, शरणार्थीलाई विगतमा दिँदै आएका सुविधा कटौती भएपछि बिजोक अवस्थामा शरणार्थीले जीवन गुजारी रहेका छन् ।

दातृ निकायले हेर्न छाड्नु र पारिवारिक विछोडको समस्याले एकैपटक गाँजेपछि शरणार्थीहरू यतिबेला विचल्लीमा छन् । उनीहरू पुनर्वास भएर अमेरिका अस्ट्रेलिया, क्यानाडा, डेन्मार्कलगायत मुलुक गएका आफन्तको भरमा छन् । तेस्रो देशमा गएका आफन्तलाई पनि सहज छैन । उनीहरूलाई जीवन धान्न र परिवार चलाउनै आफ्नो कमाई ठिक्क हुन्छ । शिविरमा रहेकामध्ये करिब १५ सय बराबार बालबालिका शिविरमा बस्छन् । तीमध्ये करिब ९०० बालबालिका कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत रहेको भुटानी शरणार्थी बालमञ्चले जनाएको छ । 

विगतमा कक्षा १० सम्म शिविरमै नि:शुल्क रूपमा शरणार्थी बालबालिकाले शिक्षा पाइरहेका थिए । हाल भने उनीहरूलाई शिविरदेखि केही टाढा रहेको ढुकुरपानी माध्यमिक विद्यालय र चुलाचुली आधारभूत विद्यालयमा पठाइएको छ । राज्यले भुटानी शरणार्थी  बालबालिका पढाउन बजेट उपलब्ध गराए पनि भुटानी शरणार्थी बालबालिकाले पैसा तिर्नुपर्ने बाध्यता छ । आर्थिक अभावका कारण बालबालिकाले समयमा विद्यालय जान नपाउँदा, कोचिङ कक्षाहरू लिन नपाउँदा, कोरोना महामारीका कारण विद्यालय जान नपाउँदा शैक्षिक गुणस्तर क्रमशः खस्कँदो रहेको फेन्स क्लब बिआरसीका अध्यक्ष युवराज राई बताउँछन् । ‘शिविरदेखि बाहिर विद्यालय लगेपछि बालबालिकालाई विद्यालय जान समस्या छ । त्यसकारण विगतको तुलनामा शैक्षिक गुणस्तर निरन्तर ओरालो लागिरहेको छ । त्यहीँमाथि कोरोनाका कारण बेलाबेला विद्यालय बन्द हुँदा विद्यार्थीले पढ्न पाएका छैनन्,’ उनले भने ।

यस्तो अवस्था आएपछि बिआरसीले पुनर्वासमा गएका शरणार्थी अगुवासँग समन्वय गरेर शिविरमै कोचिङ कक्षा सुरु गरेको छ । केही दिनदेखि तीन महिनासम्म कक्षा १ देखि १० सम्मका बालबालिकाका लागि कोचिङ कक्षा संचालन गरिरहेको अध्यक्ष राईले बताए । उनका अनुसार अमेरिकाको पेन्सलभेनिया राज्यमा रहेका मन पौडेल, लोचन खतिवडा, भुवन आचार्य, चन्द्र उप्रेती र अर्जुन सुवेदी नेतृत्वको नक्षत्र फाउन्डेसनको आर्थिक सहयोगमा कोचिङ कक्षा संचालन भइरहेको छ । कोचिङ कक्षामा २३० भुटानी शरणार्थी बालबालिका सहभागी रहेको कार्यक्रम निरीक्षक रामचन्द्र चापागाईंले बताए ।

‘विद्यालय नलागेको समयमा पनि बालबालिकाले पढ्न पाउनुपर्छ । उनीहरूको शैक्षिक गुणस्तर सुधार्नुपर्छ भनेर यो कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने, ‘दाताविना यो कार्यक्रम सम्भव थिएन । पुनर्वास भएर पनि यहाँ रहेका शरणार्थीको चिन्ता गरेर सहयोग गर्ने दातालाई हामी कहिल्यै बिर्सन सक्दैनौँ ।’ यसलाई गुरुचेला कार्यक्रम भाग–२ भनिएको छ । विगतमा मन पौडेल, लोचन खतिवडा, भुवन आचार्य, चन्द्र उप्रेतीको सहयोगमा गुरुचेला कार्यक्रम संचालन भएको थियो । शिविर र शिविर बाहिरका ३० जनालाई गुरुचेला कार्यक्रममा सहभागी गराइएको थियो । अभिभाकत्वविहीन बालबालिकालाई गलत बाटोमा जानबाट जोगाउन गुरुचेला कार्यक्रम सफल भएको अध्यक्ष राईले बताए । 

यस्तै, विगतदेखि नै नक्षत्र फाउन्डेसनले बालबालिकाका लागि सहयोग गर्दै आएको छ । बिआरसीसँग सहकार्य गर्दै २०७७ को दसैँमा ४० जना बालबालिकालाई शिक्षाको लागि दश हजार रुपैयाँ सहयोग गरेका थिए । यी व्यक्ति र संस्थासँग सहकार्य गरेर आगामी दिनमा पनि बालबालिकाको क्षमता अभिवृद्धिका लागि काम गर्ने अध्यक्ष राईले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);