शरणार्थी घरफिर्तीबारे मोदी र ओलीको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शरणार्थी घरफिर्तीबारे मोदी र ओलीको ध्यानाकर्षण

teknatha

काठमाडौँ, २४ बैशाख । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले तीन दशकदेखि अल्झेर रहेको भुटानी शरणार्थी समस्या समाधानमा पहल गरिदिन नेपाल तथा भारतका प्रधानमन्त्रीलाई एकसाथ आग्रह गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण सन्दर्भमा नेता रिजालले ‘एक लाखभन्दा बढी शरणार्थीको तेस्रो देशमा पुनर्वास गराउँदैमा यो समस्या समाधान भएको बताउन नमिल्ने’ बताए । उनले समाधानको पहिलो र प्रमुख सर्त ‘घरफिर्ती’ मा एक जनाले पनि अवसर नपाएको अनौठो स्थिति स्मरणसमेत गराए । ‘आज मुस्किलले १० हजार भुटानी शरणार्थी झापा–मोरङका शरणार्थी शिविरमा आफ्नो जीवन र भविष्यको अनिश्चय बोकेर बसिरहेका छन्,’ नेता रिजालले कान्तिपुरसँग भने, ‘शरणार्थी समस्या समाधानका नाममा यी भुटानी शरणार्थीलाई स्थानीय बसोबास लोकल सेटलमेन्टको कुरा अघि सारिएको अवस्था रहेछ । कम्तीमा विश्व समुदायसामु लोकलाज छोप्नै पनि भुटानले अहिले शिविरमा बसिरहेका र घर फर्कन चाहने शरणार्थीलाई फिर्ता लैजानुपर्छ ।’

भुटानी भूमिबाट लखेटिएका र भारतीय भूमि हुँदै नेपाल छिरेका शरणार्थी समस्या समाधानमा भारतले आफ्नो हात छैन भनेर पन्छिरहने अवस्था नरहेको स्मरण गराउँदै उनले नेपालको प्रभावशाली कूटनीति नभएकै कारण बाहिरी विश्वको दबाबमा शरणार्थी सरोकार र आन्दोलन फितलो बनाइएको बताए । शिविरमा बस्नेबाहेक आफूजस्तै शरणार्थी पहिचान र हैसियतबिनाका हजारौं भुटानी पूर्वी नेपाल र भारतकै पश्चिम बंगालदेखि असमसम्म अलपत्र रहेको रिजालले जानकारी दिए ।

‘भुटानको संविधान र संवैधानिक प्रबन्ध कत्तिको समावेशी र सहभागितामूलक छ । यसबारे पनि भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकृष्ट हुन सके उहाँको दक्षिण एसियाली प्रभाव–पहुँचको अर्थ अझ विशेष हुने थियो,’ रिजालले भने । नेपालीभाषी र हिन्दु धर्मावलम्बी भएकै कारण भुटानीहरू लखेटिएको उल्लेख गर्दै रिजालले स्वदेशमै रहेका नेपालीभाषी भुटानी अझै पनि आधारभूत मानव अधिकार र संवैधानिक नैसर्गिक अधिकारबाट वञ्चित रहेको जनाए । ‘भारतले मध्यस्थता गरिदिनुपथ्र्यो, तर भारतलाई यसबारे नेपालले कहिल्यै आग्रह गर्न चाहेन,’ नेता रिजालले भने । झापास्थित आफन्तको घरमा बस्दै आएका रिजालका छोराहरू क्यानडा आप्रवासनमा गइसकेका छन् । कान्तिपुरमा खवर छ । 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);