चितवन मेडिकल कलेजका विद्यार्थी र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चितवन मेडिकल कलेजका विद्यार्थी र प्रहरीबीच झडप

विप्लवका छोरा प्रकाशसहित १६ जना विद्यार्थी पक्राउ

मुकुन्द भुसाल

चितवन, २५ भदौ । भरतपुरको चितवन मेडिकल कलेजमा विगत दूई हप्तादेखि आन्दोलनरत रहेका विद्यार्थी र प्रहरीवीच बुधवार विहान झडप भएको छ ।

सरकारले निर्धारण गरेको भन्दा धेरै रकम असुलेको र कलेजले त्यसको कुनै रसिद समेत नदिएको भन्दै आन्दोलनमा रहेका विद्यार्थीहरुले बुधबार अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि प्रहरीले विद्यार्थीहरु माथि लाठीचार्ज गरेको हो । १६ जना आन्दोलनकारी विद्यार्थीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्दका छोरा प्रकाश चन्द पनि रहेका छन् ।

पछिल्लो समय चितवन मेडिकल कलेज बढी आन्दोलन हुने कलेजका रुपमा देखिएको छ । कलेजले विद्यार्थीहरुबाट बढी शूल्क लिने गरेका आरोप विद्यार्थीको छ । विद्यार्थीहरु त्यसैको विरोधमा विभिन्न बँुदे मागहरु राखेर आन्दोलन गर्ने, अनसनमा बस्ने जस्ता गतिविधि गर्दै आएका छन् ।

यसकै निरन्तरतामा चितवन मेडिकल कलेजमा फेरी पनि विद्यार्थीहरु आन्दोलित हुँदा प्रहरी झडप समेत भएको छ । माग भने उही, सरकारले निर्धारण गरेको भन्दा धेरै शुल्क उठाउनु र तिरेका रकमको कुनै रसिद नदिनु । कलेजको चर्को मूल्यले गरेर विद्यार्थीहरु मारमा परेका छन् ।

आफ्नो मागलाई पुरा गराउन विगत दूई हप्तादेखि कलेजका विद्यार्थीहरु आन्दोलनरत छन् । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो । अस्पतालको सेवामा अवरोध पुर्‍याउने कोशिस गरेपछि प्रहरीहरुले लाठीचार्ज पनि गरेको थियो । यसैक्रममा प्रहरीले आन्दोलनकारी विद्यार्थीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सरकारले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्र विक्रम चन्दका छोरा प्रकाश चन्द पनि रहेका छन् । आफुहरुको आन्दोलन कुनै राजनैतिक पार्टीको नभएपनि पार्टीगत आन्दोलत भनेर आरोपित गरेको विद्यार्थीहरुको गुनासो छ ।

अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । चितवन मेडिकल कलेज प्रशासन विद्यार्थी आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ ।

कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार विज्ञप्ती जारी गरी आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तीमा सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पुर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ । कलेजसँग सम्बन्धित मागमा वार्ता र सम्वादबाट समस्याको समाधान निकाल्न तयार भएको विज्ञप्तीमा उल्लेख छ ।

Press-Release

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);