एजेन्सी, ६ भदौ । युरोपा लिग फुटबलको छनौट चरण अन्तर्गत प्ले–अफको पहिलो लेगमा इंग्लिस क्लब वुल्भ्स विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा वुल्भ्सले इटालियन क्लब टोरिनोलाई ३–२ ले पराजित गरेको हो । उपहार गोलबाट वुल्भ्सले पहिलो हाफमा अग्रता लिएको हो । टोरिनोका सिल्भा नास्किमेन्तोले ४३ औँ मिनेटमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा वुल्भ्सले १–० को अग्रता लिएको हो । ५९ औँ मिनेटमा जोटाले गोल गरेपछि वुल्भ्सको अग्रता दोब्बर भयो । ६१ औँ मिनेटमा डी सिल्भेस्ट्रीले टोरिनोका लागि एक गोल फर्काए । ७२ औँ मिनेटमा जिमेनेजको गोलबाट वुल्भ्सको अग्रता ३–१ मा पुग्यो । ८९ औँ मिनेटमा पेनाल्टी पाएर बेलोट्टीले टोरिनोका लागि गोल गरे पनि हार टार्नका लागि त्यो पर्याप्त भएन । सन् १९८०–८१ यता पहिलोपटक युरोपा लिगका लागि प्रतिस्पर्धा गरिरहेको वुल्भ्स दोस्रो लेगमा पराजित नभएमा वा एक गोलले मात्रै पराजित भएमा पनि समूह चरणमा पुग्ने छ ।