काठमाडौं, २ भदौ । नेपाल कम्युनिस्ट पार्टीमा पार्टी एकीकरण भएपछि वरिष्ठताको जिम्मेवारी हेरफेर भएको छ। पार्टी एकीकरण हुँदा पहिलो नम्बरमा रहनुभएका वरिष्ठ नेता माधवकुमार नेपालको जिम्मेवारी फेरिएको छ।
नेकपाभित्र पहिलो वरिष्ठता दोस्रो वरीयतामा रहनुभएका झलनाथ खनाल बन्नुभएको छ। आइतबार बसेको सचिवालय बैठकले पार्टी एकीकरण गर्दा गरेको निर्णय सच्याउँदै खनाललाई पहिलो नम्बरको वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। नेकपाका प्रवक्ता बैठकले वरीयतामा वरिष्ठ नेताको एक नम्बरमा खनाल र दुई नम्बरमा नेपाललाई राख्ने निर्णय गरेको जानकारी दिनुभयो।
तर, सचिवालयका एक सदस्यका अनुसार नेपालले वरीयतामा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको छ। ती नेताका अनुसार नेपालले तीन नेतालाई सचिवालयमा लैजान प्रस्ताव गर्नुभएको थियो। तर, बैठकले उक्त प्रस्ताव अस्वीकृत गरेपछि सचिवालयको निर्णयप्रति नेपालले असन्तुष्टि जनाउनुभएको छ।
वरिष्ठ नेता खनालले भने आफूलाई पार्टीले न्याय दिएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मैले दृढतापूर्वक आफू अन्यायमा परेको कुराको सामना गरें, निकै ठूलो संघर्षपछि पार्टीले न्याय दिएको छ।’
वरिष्ठ नेता नेपालले त असहमति जनाउनुभयो नि भन्ने जिज्ञाशामा खनालले पार्टीले सर्वसम्मत ढंगबाट निर्णय गरेको दाबी गर्नुभयो।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले २२ वटा जनवर्गीय संगठनको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ। विशेष कमिटीको पनि जिम्मेवारी बाँडफाँड गरेको छ। बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरूण नेपाल, अध्यक्ष राजन भट्टराई र सचिव लेखनाथ न्यौपाने तोकिनुभएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।