प्रकाश नेपाल
पाल्पा, ३० साउन । पाल्पाको रामपुर नगरपालिकाको माथिल्लो क्षेत्रका कृषकहरु खाद्यान्न बालीको विकल्प स्वरुप नगदेबालीका रुपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
लगाएका खाद्यान्न बालीलाई बाँदरले नोक्सानी गरिदिनाले पीडित भएका कृषकहरुले बैकल्पिक खेतीका रुपमा बेसार खेती गर्न थालेका हुन् । जंगलसंगै पातलो बस्तीका कारण बाँदरले त्यस क्षेत्रका कृषकहरुलाई खाद्यान्न तथा फलफुल राम्ररी भित्र्याउन नदिएको कारणले उनीहरुले हैरानी वेहोर्दै आएका थिए ।
जसोतसो दुःख गरेर लगाएको खाद्यान्न वाली मात्र होइन घरमा भण्डारण गरेको अनाज समेत जोगाउन मुस्किल हुँदै आएको थियो । बाँदरको हैरानी तथा परिवर्तित कृषि प्रणालीसंगै साविक रामपुर नगरपालिका वडा नं. २ र ९ मा बेसार खेतीतर्फ आकर्षित भएका छन् ।
लगाएको कृषिबाली आफुले भन्दा बाँदरले पहिले स्याहार्ने समस्याबाट आजित भएका कृषकहरुले वडा कार्यालयमा समस्याको समाधान गरिदिन आग्रह गरेका थिए ।
वडाबासीले खेपेको पीडालाई हटाउन वडाले बेसार खेतीको लागि गत वर्ष ३ लाख रकम विनियोजन गरी ३५ क्वीण्टल वेसारको विउ वितरण गरेको थियो । कृषकहरुको गुनासोलाई सम्बोधन गर्दै वडाले बाँदरले नखाने बेसार खेतीलाई प्रवर्द्धन गरी वडालाई बेसार खेतीबाटै चिनाउने तयारी थालेको वडा सचिव गिता पौडेल लम्सालको भनाई छ ।
वडा कार्यालयले बेसार खेतीतर्फ लाग्न कृषकहरुलाई प्रेरित गर्न बाँझो ११ रोपनी जग्गामा नमुना बेसार खेती समेत लगाएको छ । वडामा अहिले ५५ भन्दा बढि कृषकले वेसार खेती गरेका छन् ।
आगामी वर्षदेखि कृषकले लगाएको बेसारको प्रशोधन तथा बजारिकरणको जिम्मा वडा कार्यालयले लिने रामपुर नगरपालिका वडा नं. ७ ले जनाएको छ । वडा कार्यालयले कृषकका राहतको लागि चालेको अभियानमा स्थानीयहरु सक्रिय भएर लागेमा जिवनस्तर सुधारसंगै वडाको पहिचानपनि फेरिने छ । जसको लागि वडाले निरन्तर अनुगमन संगै उत्कृष्ट कृषकहरुलाई थप हौसला प्रदान गर्नु आवश्यक छ ।




