सिंचाई संरचनाको पुनः निर्माणको लागि अर्थमन्त्रालयसंग ३८ करोड २६ लाख ५२ हजार माग | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सिंचाई संरचनाको पुनः निर्माणको लागि अर्थमन्त्रालयसंग ३८ करोड २६ लाख ५२ हजार माग

काठमाडौं, ३० साउन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गत असारको बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिंचाई संरचनाहरुको पुनः निर्माणको लागि अर्थमन्त्रालयसंग ३८ करोड २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराउन माग गरेको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि क्षतिग्रस्त संरचना मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनुभएको हो ।

उहाँले क्षतिग्रस्त संरचनाको मर्मत तथा नयाँ निर्माणका लागि सिंचाई विभागले तयार पारेको तात्कालिन र दीर्घकालिन कार्ययोजना अनुसार तात्कालिन मर्मत र निर्माणका लागि ३८ करोड २२ लाख र दीर्घकालिन कार्यका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने जानकारी दिनुभयो ।

संभावित बाढीका बारेमा बर्षाद पूर्व जल तथा मौसम विभागबाट पूर्व सुचना जारी गरिएकाले आवश्यक सर्तकता अपनाईएको र बाढीको समयमा जलश्रोत तथा सिंचाई विभाग अन्तर्गतका कार्यालयबाट आपत्कालिन बचावटका कार्य संचालन गरिएकाले अनुमान गरे भन्दा कम क्षति भएको बताउनुभयो ।

गत बर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस बर्ष साढे २ अर्ब मात्रै भएको भन्दै उहाँले सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीन वटै सरकारबीच समन्वय आवश्यक पर्ने बताउनुभयो ।

मन्त्री पुनले नदीको वहाव प्राकृतिक रुप भन्दा विपरित दिशाबाट संरचना बनाएकाले पनि डुबानको समस्या निम्तिने गरेको उल्लेख गर्दै समस्या सम्बोधनका लागि सरोकारवाला मन्त्रालयबीच एकीकृत योजना बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

गत असार २७ देखि २९ गते सम्मको अबिरल बर्षाका कारण नदी तथा स्थानीय खोलामा आएको बाढीका कारण तराई लगायत मुलुकका विभिन्न स्थानका सिंचाई आयोजना तथा तटबन्धहरु क्षतिग्रस्त बनेका छन् ।

मन्त्रालयले लाल बकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट ४० हजार थान बोरा र २ सय ५० थान नाइलन जाली तथा लाल बकैया नदीबाट विभिन्न स्थनमा भएक कटान र डुबान नियन्त्रणका लागि बागमति तथा ललबकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट १ लाख ६२ हजार थान बोरा तथा ७ सय ५५ थान नाईलन जाली क्षतिग्रस्त स्थानहरुमा उपलब्ध गराउने काम भएको जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);