पोर्चुगिज क्लब पोर्टो च्याम्पियन्स लिगको छनौट चरणबाटै बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

पोर्चुगिज क्लब पोर्टो च्याम्पियन्स लिगको छनौट चरणबाटै बाहिरियो

football

एजेन्सी, २९ साउन । पोर्चुगिज क्लब च्याम्पियन्स लिग फुटबलको छनौट चरणबाटै बाहिरिएको छ ।

छनौटको तेस्रो चरणको दोस्रो लेगमा मंगलबार राति रुसी क्लब एफके क्रास्नोडारसँग पराजित भएपछि पोर्टो बाहिरिएको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा पोर्टो ३–२ ले पराजित भएपछि समग्रमा ३–३ को बराबरी भयो । तर अवे गोलका आधारमा पोर्टो पराजित भयो । अवे मैदानमा भएको पहिलो लेगमा पोर्टो १–० ले विजयी भएको थियो । मंगलबार राति भएको दोस्रो लेगमा भ्रमण टोली एफके क्रास्नोडारले पहिलो हाफमै तीन गोल गरेको हो । उसका लागि भिल्हेनाले गोल गरे भने १२ र ३४ औँ मिनेटमा सुलेयमानोभले गोल गरेका हुन् । पोर्टोका लागि मेन्डेस एनड्राडी र लुइस डियाजले गोल गरे ।

अवे गोलका कारण पछि परेर बाहिरिएको पोर्टो सन् २०१०–११ को सिजनपछि पहिलोपटक च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्थान बनाउन असफल भएको हो ।अजाक्सले पाओक सालोनिकालाई मंगलबार राति भएको दोस्रो लेगमा ३–२ ले पराजित गर्दै समग्रमा ५–४ को जित निकालेर अन्तिम चरणको प्ले–अफमा स्थान पक्का गरेको हो ।यसैगरी दोस्रो लेगमा ३–३ को बराबरीसहित डिनामो किएभमाथि समग्रमा ४–३ को जित निकालेर क्लब बर्गले पनि प्ले–अफमा स्थान बनाएको छ ।