मुख्य भन्सार नाकाबाटै अत्यधिक राजस्व छली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुख्य भन्सार नाकाबाटै अत्यधिक राजस्व छली

bhansar arthamantralay

काठमाडौं, २८ साउन । देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् । राजस्व छली हुने क्रम बढ्दा अधिकांश भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छैनन् ।

विज्ञहरूका अनुसार भन्सारका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा नै राजस्व छली हुँदै आएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार मुलुकको सबैभन्दा ठूलो भन्सार नाका वीरगन्जबाट ८९ अर्ब ८० करोड ५७ लाख १३ हजार राजस्व उठेको छ । जब कि सो भन्सार नाकाबाट राजस्व उठाउने लक्ष्य भने ९६ अर्ब ७६ करोड २५ लाख ४६ हजार राखिएको थियो । सो नाकाबाट लक्ष्यभन्दा ७ अर्ब बढी राजस्व उठ्न नसकेको पाइएको छ ।भन्सार विभागले भैरहवा भन्सार कार्यालयबाट ५८ अर्ब ६३ करोड ५२ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा ५० अर्ब ९४ करोड ८२ लाख मात्रै राजस्व उठेको जनाएको छ ।

यसैगरी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, रसुवा भन्सार कार्यालयलगायतबाट पनि लक्ष्यभन्दा कम राजस्व उठेको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । लक्ष्यभन्दा निकै कम राजस्व उठेकाले ती नाकाबाट पनि राजस्व छली भएको सहजै अनुमान गर्न सकिन्छ ।

भन्सार स्रोतका अनुसार पशुपति नगर भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, सिराहा भन्सार कार्यालय, गौर भन्सार कार्यालय, कोइलावास भन्सार कार्यालयबाट समेत ठूलो मात्रामा राजस्व छली भइरहेको बताइएको छ ।

पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्री भट्टराईले भन्सार विभागले दिएको लक्ष्यअनुरूप राजस्व उठाउन नसक्नुले राजस्व छली भएको पुष्टि गर्ने बताए । उनले २०७५÷७६ को बजेट भाषणमा भन्सार छली नियन्त्रण गर्न सन्दर्भ मूल्य लागू गरे पनि भन्सार विभागका कर्मचारी र सुरक्षा निकायका कर्मचारीको असहयोगका कारण सो प्रावधान लागू हुन नसकेको बताए ।

राजस्व छली नियन्त्रण गर्ने प्रमुख निकाय भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय हुन नसक्दा पनि भन्सार छली हुने क्रम बढेको विज्ञको दाबी छ । त्यस्तै, राजस्व छली गर्ने निकायकै मिलेमतोमा व्यापारीले ठूलो परिमाणमा राजस्व छली गर्ने गरेको स्रोतको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);