गोलिया निकासीबाट बार्षिक एक अर्व १२ करोड ५० लाख बराबरको आर्थिक कारोबार –
टिका खतिवडा
इलाम, १६ साउन । पुर्वी पहाडी जिल्लाबाट वर्षेनी कराेडाैं मुल्यकाे गोलिया तराइमा निकासी हुने गरेको छ । स्थानीय स्तरमा ठूला भेनियर उद्योग नहुँदा र भेनियर उत्पादनका लागि आवश्यक दक्ष जनशक्तिको अभावले भेनियर उत्पादनको लागि आवश्यक कच्चा पदार्थ गोलिया तराईमा निकास हुँदै आएको छ ।
निकासीमा बृद्धि भएपनि किसानहरुले भने उचित मूल्य पाउन सकेका छैनन् । नीजि आवादी जग्गाबाट विक्रि गरिएका गोलिया प्रति क्युविक फिट एक सय पचास रुपैयाँमा विक्रि हुने गरेको छ ।
इलाम जिल्लामा हाल एक मात्र भेनियर उद्योग संचालनमा रहेको छ । कुकाठका रुपमा चिनिने उत्तिस, मलातो, चिलाउने, सिरिस र सीमललाई नीजि नम्बरी जग्गामा उत्पादन गरी किसानले विक्रि गर्ने गरेका छन् ।
वन पैदावार ब्यवसायीहरुले मुल्य अभिवृद्धि कर बुझाएर छुट्टै पुर्जी लिएर तराइका जिल्लामा गोलिया निकासी गर्ने गरेका छन् । गोलियाबाट उत्पादित कच्चा भेनियर सुकाउनका लागि तराइमा सजिलो हुने र वन ऐन अनुसार उपयुक्त स्थान नभएकाले निकासी गर्न वाध्य भएको व्यवसायीको भनाई छ ।
गएको आर्थिक बर्ष मात्रै इलाम जिल्लाबाट बार्षिक रुपमा नीजि आवादी जग्गाबाट २८ लाख क्युविक फिट र सामुदायिक बनबाट ६५ हजार क्युविक फिटको गोलिया झापा लगायतका तराइका जिल्लामा निकासी भएको डिभिजन वन कार्यालय इलामका सुचना अधिकारी यमबहादुर रुम्बाले जानकारी दिनुभयो ।
गोलिया निकासीमार्फत किसानका साथै दैनिक साढे आठ सय मजदुरले रोजगारी पाएको बताइएको छ । गोलिया निकासीबाट बार्षिक एक अर्व १२ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने समेत कार्यालयबाट जानकारी प्राप्त भएको छ ।
स्थानीय स्तरमा नै भेनियर उद्योग स्थापना गर्न सके र दक्ष जनशक्ति उत्पादन गर्न स्थानीय सरकारले सोच्ने हो भने यहाँका किसानहरुले उत्पादन गरेको गोलियाको भाउ वढ्ने र आयआर्जन बृद्धि हुने विज्ञहरुको भनाई छ ।