आफू रविन्द्र अधिकारीकाे उत्तराधिकारी भएको नवनियुक्त मन्त्री भट्टराईको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आफू रविन्द्र अधिकारीकाे उत्तराधिकारी भएको नवनियुक्त मन्त्री भट्टराईको भनाई

नवनियुक्त मन्त्री भट्टराईद्धारा पदभार ग्रहण

काठमाडौं, १५ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आफू रविन्द्र अधिकारीले उत्तराधिकारीको रुपमा आएको बताउनु भएको छ ।

नवनियुक्त मन्त्री भट्टराईले बुधबार अपरान्ह सिंहदरबारमा आफ्नो पदभार ग्रहण गरेलगत्तै संचारकर्मीमाझ आफू अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताउनु भएको हो ।

उहाँले आफ्ना घनिष्ट मित्र अधिकारीको हेलिकप्टर दुर्घटनाबाट निधन भएपछि उहाँको उत्तराधिकारीको रुपमा आउन पाउँदा गर्वको अनुभूति भएको पनि स्पष्ट पार्नु भयो । ‘उहाँले नै यो मन्त्रालयलाई राम्रोसँग सम्हाल्नु हुन्थ्यो, सम्हाली रहनु भएको थियो पनि, यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो, मन्त्री भट्टराईले भावविह्वल हुँदै थप्नु भयो, प्रकृतिसँग, घटनाहरुसँग हामीले जित्न सकेनौं, उहाँलाई हामीले अल्पआयूमै गुमाउनु प-यो, आज म त्यसै भएर उहाँको उत्तराधिकारीको रुपमा आएको छु, त्यसमा मलाई गर्व छ ।’

त्यस अवसरमा मन्त्री भट्टराईले अधिकारीले उठाउनु भएको कदमलाई मन्त्रालयका पदाधिकारीसँग आवश्यक राय, सुझाव लिई अझै माथि उठाउने विश्वास पनि दिलाउनु भयो । मन्त्रालयको कामलाई अगाडि बढाउने शिलशिलामा पूर्व पर्यटनमन्त्रीहरुको आवश्यक सल्लाह लिएर अघि बढने मन्त्री भट्टराईको प्रतिवद्धता छ ।

मन्त्री भट्टराईले आफू मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगीसम्मको सुझाव लिएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । आफू निर्देशन दिन नभई मन्त्रालयको टिमसँग सिकेर काम गर्न लागिपर्ने पनि उहाँको भनाई छ ।

मन्त्री भट्टराईले पदभार ग्रहण गरिरहँदा आफू निर्वाचित क्षेत्र ताप्लेजुङका मतदाताको पनि स्मरण गर्नु भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहनु भएका उहाँले आफूलाई मन्त्रीको रुपमा नियुक्त गर्नु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार पनि व्यक्त गर्नु भयो ।

पदभार ग्रहण गर्नु अघि नवनियुक्त मन्त्री भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, सोही मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटासहितले पुष्पगुच्छासहित स्वागत गरेका थिए । यस अघि उहाँले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);