काठमाडौँ र सोलुखुम्बु जोड्ने सडक सिस्नेरी पहिरोको चपेटामा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सुवास दर्नाल, सोलुखुम्बु, २२ भदौ । राजधानी सहर काठमाडौंलाई हिमाली जिल्ला सोलुखुम्बुसँग जोड्ने एकमात्र सडक हरेक वर्षात्को समयमा सिस्नेरी पहिरोको चपेटामा पर्ने गरेको छ । सल्लेरी–जन्तरढाप सडक खण्डअन्तर्गत तिङ्लास्थित सिस्नेरी पहिरोका कारण नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पहिरो बढ्दै जाँदा मानव बस्तीसमेत जोखिममा पर्न थालेका छन् ।

सडक मार्ग हुँदै सोलुखुम्बु भित्रिने अधिकांश पर्यटक तथा यात्रुले सल्लेरी–जन्तरढाप सडक प्रयोग गर्नुपर्ने हुन्छ । तर, वर्षात् लागेसँगै सडकमा पहिरोका कारण ठूल्ठूला ढुंगा र लेदो बगिरहने भएकाले बारम्बार सवारी ठप्प हुँदा यात्रा जोखिमपूर्ण बन्ने गरेको छ ।

सोलुखोलामा निर्माणाधीन माथिल्लो र तल्लो सोलु हाइड्रो कम्पनीले पनि सिस्नेरी भएरै सामान ढुवानी गर्दै आएका छन् । पहिरो क्षेत्रमै निर्माणाधीन हाइड्रो कम्पनीका कारण पुनः पहिरो खस्न थालेको स्थानीयको आरोप छ । पहिरो पन्छाएर सडक सञ्चालन गर्ने गरिए पनि पहिरोको दिगो व्यवस्थापनतर्फ कसैले चासो नदिँदा बस्ती नै धरापमा पर्दै गएको उनीहरु बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने पहिरोको तत्कालीन र दीर्घकालीन समाधानका लागि सडक डिभिजन कार्यालय ओखलढुंगालाई निर्देशन दिइसकेको बताउछन् ।

जिल्ला भित्रिने एकमात्र सडक मार्ग बारम्बर अवरुद्ध भइरहँदा एकातिर यात्रा जोखिमपूर्ण बनिरहेको छ भने अर्कातिर समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था छैन । यातायात सञ्चालन अवरुद्ध हुन नदिन तथा बस्ती सुरक्षालाई समेत मध्यनजर गर्दै पहिरोको दिगो व्यवस्थापनका लागि सम्बन्धित निकायबाट तत्काल उचित पहल थाल्न आवश्यक छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);