काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्दोलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसंग माग गर्नुभएको हो । उहाँले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृतिक, सामाजिक मुल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दाबी गर्नुभयो ।
बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भुमिका निर्वाह गर्न सभामुख कृष्ण बहादुर महराको ध्यानाकर्षण गराउनु भयो । सांसद कर्णले स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि लोक सेवा आयोगले गरेको बिज्ञापन रोक्न संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै सभामुखलाई अबिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो
सभामुखले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद कर्णलाई बोल्नका लागि समय दिनुभएको थियो ।




