नेपालगञ्जमा पछिल्लो समय खानेपानीको समस्या बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपालगञ्जमा पछिल्लो समय खानेपानीको समस्या बढ्दै

pan

निसा शाह
नेपालगञ्ज, २७ जेठ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पछिल्लो समयमा खानेपानीको समस्या बढ्दै गएको छ । खानेपानीको समस्या बढ्दै जाँदा नेपालगञ्जका उपभोक्ताहरु सीमित पानीबाट दैनिकी गुजारा गर्न बाध्य भएका छन् । विभिन्न स्थानमा खुलेका पानी उद्योगहरुले गर्दा धारामा पानी आउन छाडेको स्थानीयको गुनासो छ ।

नेपालगञ्ज उपमहानगरपालिका २, ४ र १२ नम्बर वडाका स्थानीयको धारामा पानी आउन छाडेपछि स्थानीयहरु चिन्तित बनेका छन् । धारामा पानी आउन छाडेपछि स्थानीयहरुलाई दैनिक रुपमा घरायसी कामकाज गर्न पनि समस्या परेको छ ।

नेपालगञ्जमा दिनप्रतिदिन बढ्दै गएको पानी उद्योगका कारण पानीको समस्या बढेको स्थानीयको आरोप छ । पानी उद्योगले ठुला ठुला बोरिङ चलाएर स्थानीयको धारामा पानि आउन छाडेको स्थानीयको भनाई छ ।

एउटै वडामा २ वटासम्म पानी उद्योग भएकोले आफनो घरको धारामा पानी नआएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले पानी उद्योग बन्द गर्नुपर्ने माग गर्दै आएका छन् । अहिले नेपालगञ्जमा २९ वटा पानी उद्योग दर्तामा रहेको तथ्याङ छ । स्थानीयको जन गुनासो बढेपछि वडा न. ४ मा रहेको न्यू सगरमाथा र वाईके पानी उद्योग त बन्द नै गरिएको छ ।

यता पानी उद्योग सञ्चालक भने गर्मीयाम भएकाले धारामा पानी सुकेको बताउने गरेका छन् । आफुहरुले दैनिक केही समयको लागि मात्र बोरिङ चलाउने गरेको हुनाले उद्योगले गर्दा समस्या आएको मान्न तयार छैनन् ।

पानीको समस्या बढ्दै गएपछि स्थानीयहरुले वडा तथा उपमहानगरपालिकामा उद्योग बन्द गर्न दबाब दिएका छन् । तर नेपालगञ्ज उपमहानगरपालिका वडा न. १२ का वडा अध्यक्ष वुद्धिसागर सुवेदीे भने पानी उद्योगकै कारण स्थानीयको धारामा पानी सुकेको हो होइन भनी अनुसन्धान गरेर निस्कर्षमा पुगेपछि समस्या समाधानतर्फ जाने बताएका छन् ।

अत्यधिक गर्मी हुने नेपालगञ्जमा त्यसमाथि पानीको समस्याले स्थानीयहरुले विभिन्न कठिनाई भोगीरहेका छन् । तर स्थानीयले आफुहरुको समस्याकोबारेमा पटक पटक नेपालगञ्ज उपमहानगरपालिकालाई दबाब दिँदा पनि समस्याको समाधानतर्फ उपमहानगरपालिकाले कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);