दार्चुलाको महाकाली नगरपालिकामा खानेपानीको हाहाकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दार्चुलाको महाकाली नगरपालिकामा खानेपानीको हाहाकार

बाशुदेव बडु

दार्चुला, १९ साउन । दार्चुलाको महाकाली नगरपालिकामा खानेपानीको हाहाकार भएको छ । नगरपालिकाको वडा नम्बर ४ र ५ को बजार क्षेत्रको धारमा पानी नआउँदा उपभोक्ता मारमा परेका छन् ।

पहिरोले क्षति पु-याएको पानीको लाइन मर्मत गर्नका लागि बारम्बार आग्रह गरे पनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको आक्रोश छ । दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको वडा नम्बर ४ र ५ को बजार क्षेत्रको धारामा पानी नआएको १५ दिन भन्दा बढी भइसक्यो ।

पहिरोले पाइपलाइन अबरुद्ध भएपछि धारमा पानी आउन छोडेको स्थानीयको भनाइ छ । धारामा पानी नआएपछि यस क्षेत्रमा खाने पानीको हाहाकार भएको छ ।

तर, मर्मतका लागि सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले खानेपानीको पाईप लाईन मर्मत गरी पानी सञ्चालन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

वडा नम्बर ४ का अध्यक्ष पुष्करराज जोशी भने खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई मर्मत गर्न आग्रह गरेपनि आलटाल गरिरहेको भन्दै जिम्मेवारीबाट पन्छन खोज्दैछन्।

पानी सञ्चालन तथा मर्मतको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिलाई नै रहेकाले तत्काल आफुले मर्मतका लागी अनुरोध गर्नबाहेक कुनै विकल्प नरहेको जोशीको भनाइ छ ।

स्थानीय सरकार गठन भएसँगै यस्ता समस्या अन्त्य हुने अपेक्षा गरेका जनता भने जिम्मेवार निकायको गैरजिम्मेवार कामबाट आजित भएका छन् । खानेपानी जस्तो अत्यावश्कीय बस्तुका हाहाकार हुँदा समेत जिम्मेवार निकाय एक–अर्कालाई आरोप लगाउँदै पन्छने प्रवृति अन्त्य नहुँदा जनताले परिवर्तनको महसुस गर्न सकेका छैनन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);