राजस्वको महत्वाकांक्षी लक्ष्यलाई चुनौती | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

राजस्वको महत्वाकांक्षी लक्ष्यलाई चुनौती

rajaswa

काठमाडौं, २१ जेठ । अर्थ मन्त्रालयको राजस्व परामर्श समितिको प्रतिवेदनले सरकारको आगामी आर्थिक वर्षको राजस्व संकलनको महत्त्वाकांक्षी लक्ष्यलाई चुनौती दिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा २९.३० प्रतिशत राजस्व वृद्धिको लक्ष्य लिएको छ। तर, प्रतिवेदनमा भने २०.१५ प्रतिशत पुग्ने अनुमान छ।

आगामी आव सरकारले राजस्वको लक्ष्य ११ खर्ब १२ अर्ब ३ करोड ३३ लाख रुपैयाँ राखेको छ। समितिको आकलनभन्दा १० प्रतिशत बढी हो। समितिले आगामी आवमा १० खर्ब १० अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। समितिको चालु आवको प्रक्षेपणलाई आधार लिने हो भने यस अवधिमा २०.१५ प्रतिशत बढ्ने देखिन्छ।

राजस्वको खर्च धान्न नसक्ने महत्त्वाकांक्षी लक्ष्य राख्दा विकास कार्यक्रम प्रभावित हुनेछ। सरकारको वित्त व्यवस्थापनमा राजस्वको यथार्थपरक अनुमानले ठूलो महत्त्व राख्ने भन्दै प्रतिवेदनमा उल्लेखित अनुमानको आधारलाई वैज्ञानिक भएको दाबी गरिएको छ। ‘सार्वजनिक खर्च धान्न नसक्ने महत्त्वाकांक्षी राजस्व प्रक्षेपण गरिएमा सरकारले ऋण उठाउने, सम्पत्ति बिक्री गर्ने जस्ता उपाय अपनाउनुपर्नेछ वा खर्च घटाउन विकास कार्यक्रममा कटौती गर्नुपर्दछ’, प्रतिवेदनमा भनिएको छ।

घाटा बजेट र खर्च कटौती गर्ने उपायले आर्थिक वृद्धि र लगानीमा प्रतिकूलता ल्याउने र वित्तीय अनुशासन कायम गर्न चुनौतीसमेत थप्नेछ।

यसपालि राजस्व वृद्धिदर पनि १९.७४ पुग्ने देखिएको छ। यसअनुसार ८ खर्ब ४० अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। यद्यपि, पछिल्लो बजेटमा अर्थमन्त्री डा.युवराज खतिवडाले चालु आवमा २२.४६ प्रतिशत राजस्व वृद्धि हुनेमा अडिग छन्। यसअनुसार राजस्व परिचालन ८ खर्ब ६० अर्ब पुग्ने अनुमान छ। यो समाचार आजको अन्नपुर्ण दैनिकमा लेखेको छ ।