शम्भु माली
कपिलवस्तु, १० जेठ । कपिलवस्तुको बुद्धभूमी नगरपालिकाको जयनगरस्थित बजार क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका १४ वटा पसल तथा घर टहराहरु शुक्रबार डोजर लगाएर भत्काइएको छ । डिभिजन वन कार्यालय कपिलवस्तु, बुद्धभूमी नगरपालिका, त्रिशुली सामुदायिक वन र बुद्धभूमीका स्थानीय नागरिकको अगुवाइमा ती घर पसलहरु भत्काईएको हो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकको समेत सहभागितामा भत्काइएका पसलहरुमध्ये अधिकांस खाजा पसलहरु थिए । डिभिजन वन कार्यालय कपिलवस्तु, त्रिशुली सामुदायिक बन, बुद्धभूमी नगरपालिका र सम्वन्धित वडाले पटक पटक उक्त क्षेत्रको अतिक्रमण खाली गर्न र सम्मानका साथ अन्यन्त्र स्थानान्तरण हुन सुचित गरेको थियो ।
तर अतिक्रमणकर्ताले सुचनालाई बेवास्ता गरेपछि डोजर प्रयोग गरेर भत्काउन बाध्य भएको त्रिशुली सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
सामुदायिक वन क्षेत्रलाई सबैको साझा नै रहन दिनुपर्ने भएकाले अतिक्रमित क्षेत्रमा डोजर चलाएर खाली गर्न लागिएको डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख ईश्वरी पौडेलले स्पष्ट पार्नु भयो ।
डोजर लगाएर घर टहरा तथा पसलहरु भत्काइएपछि त्यहाँ आश्रितहरुको बिचल्ली भएको छ । संरचना भत्काइएपछि उनीहरुको सामानहरु छरपस्ट छरिएको थियो । आफ्नो जिविकोपार्जनको बाटोलाई डोजर लगाएर भत्काइएकोमा दुखेसो तथा आक्रोश पोख्दै थिए । यसरी डोजर लगाएर भत्काउनु अगाडि आफुहरुले बैकल्पिक स्थानमा व्यवस्थापन गरी दिन गरेको मागलाई बेवास्ता गरेको आश्रितहरुको भनाई छ ।
डिभिजन वन कार्यालयले घर टहरा हटाउने सुचना प्रकाशित गरेपछि सुकुम्बासीहरु अदालतसम्म पुगेका थिए । तर त्रिशुली सामुदायिक वन तथा डिभिजन वन कार्यालयले नियम सम्मत नै घर टहरा भत्काइएको बताएको छ ।




