काठमाडाैं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुँदैछ । प्रतिनिधिसभाका विषयगत र संयुक्त समितिको दिउँसो १ बजे बस्ने छुट्टाछुट्टै बैठकबाट सभापतिको चयन गरिने छ । समिति सभापतिकालागि शुक्रबार मनोनयन दर्ता गरिएको हो ।
शिक्षा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा दुई–दुईजनाको उमेदवारी परेको छ भने अन्य समितिका सभापतिमा एकल उमेदवारी परेको छ । कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरीले उमेदवारी दिनुभएको छ ।
पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्यव्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकालको उमेदवारी परेको छ । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन सभापतिमा सुम्नीमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारीको उमेदवारी मनोनयन भएको छ । लेखा समितिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले उमेदवारी दिनुभयो ।
त्यस्तै, संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समिति सभापतिमा बोधनारायण श्रेष्ठले उमेदवारी दिनुभएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा रास्वपाबाट डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालको, संयुक्त समितिअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका मदनकुमारी शाह (गरिमा)ले मनोनयन दर्ता गर्नुभएको छ ।





