पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको देउवाको दावी | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको देउवाको दावी

deuba

काठमाडौं, ३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दावी गर्नु भएको छ । सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टी भित्र शक्तिशाली भएकाले पार्टी संकटमा फसेको तर्क पनि गर्नु भयो ।

उहाँले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनु भयो । शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो पनि गर्नु भयो ।

दुइ कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहो-याउँदै सभापति देउवाले सो हारको दोषी आफुलाई मात्रै लाउने गरेकोमा आपत्ति पनि जनाउनु भयो । मंचमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाललाई मिलाउनका लागि निर्वाचनका बेला वार्ताका पठाएको तर मिलाउन नसकेको पनि स्मरण गराउनु भयो । उहाँले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैर प्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप पनि लगाउनु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गर्नु भयो । उहाँले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वको लिनुपर्ने पनि बताउनु भयो । नेता सिटौलाले पार्टी भित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाँही हुनै नहुने पनि स्पष्ट पार्नु भयो ।