काठमाडाैं ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारण र पार्टीको आगामी कार्यदिशाबारे घनिभुत छलफल भएको छ । बैठकको तेस्रो दिन नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा र पार्टीको साङ्गठनिक सुदृढीकरणका विषयमा आफ्ना धारणाहरू राखेका छन् ।
आजको बैठकमा करिव पाँच जना वक्ताहरूले मात्रै आफ्ना विचार व्यक्त गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । नेता खतिवडाकाअनुसार बैठकमा मुख्य गरी पार्टीले यस पटकको निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसक्नुका कारणहरू, नेपालको भू–राजनीतिक संवेदनशीलता र यसको जटिलताका विषयमा छलफल केन्द्रित भएको छ । पार्टी संगठनको व्यवस्थापन र एकता प्रक्रियालाई अगाडि बढाउन सदस्यहरूबाट सुझाव संकलन गर्ने कार्य भइरहेको छ । बैठक बुधवार बिहान ११ बजे पुनः बस्ने तय भएको छ । भोलिको बैठकमा पनि बाँकी सदस्यहरूले धारणा राख्ने र सुझाव संकलनको कार्यलाई निरन्तरता दिइने बताइएको छ ।




