पार्टीको विशेष महाधिवेशन बोलाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पार्टीको विशेष महाधिवेशन बोलाउन माग

congress logo

काठमाडौं, १० चैत । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयको कारणको समीक्षा गर्नका लागि बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरिएको छ । पार्टी कार्यालयमा केन्द्रीय कार्य समितिको बैठक शुक्रबार शुरु भएको बैठकमा पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै यस्तो माग गरिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा शुक्रवार आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरूले नेतृत्वको तीखो आलोचना गर्दै शीघ्र पार्टीको विशेष महाधिवेशन बोलाउन दबाब दिएका हुन् । बैठकमा पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य नारायण खड्काले सबैभन्दा ठूलो पार्टी काँग्रेस पराजय हुनुमा नेतृत्वको अनेक कमजोरी रहेको भन्दै निकास जरुरी रहेको मत राखेका थिए ।

बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंहले नौ पृष्ठ लामो लिखित प्रस्ताव राखेका थिए । उनले काँग्रेसले भाग लिएको निर्वाचनमा अहिलेको जस्तो लज्जास्पद पराजय विगतमा कहिल्यै नभोगेको भन्दै थपे ,‘ निर्वाचनमा किन जनताले काँँग्रेसलाई निर्मम तवरले दण्डित गरे त्यसको गहिरोसँंग समीक्षा गर्नु जरुरी छ । ’
उनले पार्टीले आगामी दिनमा लिनुपर्ने सैद्धान्तिक एवं नीतिगत सुझाव पनि दिए । त्यसक्रममा पार्टीको वैचारिक मुद्दालाई जनभावना, समयको माग र प्रजातान्त्रिक मूल्य मान्यता अनुसार परिवर्तन, परिमार्जन वा पुनः परिभाषित गरिनु जरुरी भएको उनको भनाइ थियो ।

नेता सिंहले नेपाली काँग्रेसले वामपन्थी भाषामा वा उग्र दक्षिणपन्थी अतिवादमा फसेर आफ्नो अस्तित्व कायम गर्न नसक्ने धारणा राखे । उनले पार्टी सभापतिले नेकपा माओवादी केन्द्रसँंग आलोपालो प्रधानमन्त्री बन्ने शर्तमा गरेको सत्ता बाँडफाँटको सम्झौता र चितवनमा प्रचण्डपुत्रीलाई मेयरमा जिताउन खेलेको भूमिका, नेपाली काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ताकेन्द्रित राजनीतिको पराकाष्ठा भएको टिप्पणी गरे ।

पूर्व महामन्त्री सिंहले मधेशकेन्द्रित दललाई मनाउने क्रममा नेपाली काँग्रेसले राखेको संविधान संशोधनको प्रस्तावको औचित्य सिद्ध गर्न नसक्दा तरार्ई र पहाड दुवैतिर हार बेहोर्नुपरेको मत पनि राखे । बैठकमा अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनमा पार्टीले अवलम्बन गरेको नीति, योजना र कार्यक्रमको समीक्षा गर्दै त्यसमा दोष पार्टी सभापति र वरिष्ठ नेताको रहेको बताए । उनले विशेष महाधिवेशन बोलाएर पार्टीलाई नयाँ ढङ्गले अगाडि लैजानुको विकल्प नरहेको धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।

अर्का नेता डा. नारायण खड्काले पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि स्थायी रूपमा गुटगत संस्कृतिको विकास हुनु दुर्भाग्यपूर्ण भएको धारणा राखे ।  निर्वाचनमा पार्टी पराजयको मुख्य कारण गुटको राजनीति नै भएको भन्दै जति सक्यो छिटो त्यसको अन्त्य गर्न पार्टी नेतृत्व लाग्नुपर्ने सुझाव दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठक शनिबार पुनः बस्ने पार्टी सचिवालयले जानकारी दिएको छ ।

यो खबर आजको गोरखापत्रमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);