महासमिति बैठक बोलाउन देउवा तयार | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

काठमाडौँ,१७ पुस ।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी महासमिति बैठक डाक्न तयार देखिएका छन् । निर्वाचनमा पराजय भएपछि पार्टीभित्रैबाट विशेष महाधिवेशन बोलाउन दबाब खेपिरहेका देउवा केन्द्रीय कार्यसमिति बैठक राखेर त्यसैबाट महासमिति बैठकको तिथि तय गर्ने तयारीमा रहेको उनीनिकट केन्द्रीय सदस्य प्रकाशशरण महतले जानकारी दिए ।

नेपाल विद्यार्थी संघले मेलमिलाप दिवसका अवसरमा आइतबार राजधानीमा गरेको कार्यक्रममा सहभागीहरू ।
‘विशेष महाधिवेशन हुँदैन, महासमिति बैठकमा नै सबै छलफल हुन्छ,’ महतले भने, ‘पार्टी विधानको प्रबन्धनअनुसार पनि महासमिति बैठक बोलाउन आवश्यक छ ।’

कांग्रेसमा महाधिवेशनपछिको उच्च निकाय महासमिति हो । विधानअनुसार यो बैठक वर्षमा एकपटक बोलाउनुपर्छ तर देउवा सभापति निर्वाचित भएको दुई वर्ष बित्न लाग्दा पनि महासमिति बैठक एकपटक पनि डाकिएको छैन ।
पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेपछि त्यसको समीक्षा र नेतृत्वको विषयमा छलफल गर्न पार्टीभित्रै विशेष महाधिवेशन बोलाउन दबाब पर्दै आएको छ ।

पार्टी नेतृत्वको अकर्मण्यताले निर्वाचनमा कांग्रेसको लज्जास्पद हार भएको निष्कर्षसाथ पार्टीका केही युवा नेताले विशेष अथवा महाधिवेशन बोलाउन नेतृत्वलाई दबाब दिँदै आएका छन् । उनीहरूले निर्वाचनको हारको समीक्षाले मात्र नभई पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने दिशामा छलफल अघि बढाउँदै आएका छन् ।
सभापति देउवाले भने विशेष महाधिवेशन पनि नबोलाउने, महासमितिमा पनि पार्टी नेतृत्वको विषयमा छलफल नगराउने सन्देश दिएका छन् ।

नेविसंघ नेतृत्वले मेलमिलाप दिवसका अवसरमा आइतबार राजधानीमा राखेको कार्यक्रममा बोल्दै देउवाले वाम गठबन्धनका कारण प्रत्यक्षमा कांग्रेस हारे पनि समानुपातिकमा कांग्रेसले जितेको भन्दै आफ्नो बचाउ आफैं गरेका थिए । ‘समानुपातिकमा कांग्रेस हारेको छैन । कांग्रेसका बढी मत बदर भएका कारण एक सिटले मात्रै एमाले अघि भएको हो,’ देउवाको तर्क थियो, ‘दुइटा मिलेर मात्रै हो । एक्लाएक्लै लडदा हाम्रै जित छ ।’

उनले प्रत्यक्षमा पार्टी पराजित हुनुमा वाम गठबन्धन र आन्तरिक अन्तर्घात प्रमुख कारण रहेको पनि बताए । ‘स्थानीय तहमा पनि अन्तर्घात भयो । त्यसमा कारबाही नगर्दा अहिले झनै बढी अन्तर्घात भएको छ,’ देउवाले भने, ‘अब पार्टीमा अनुशासन कायम राख्न अन्तर्घात गर्नेमाथि कारबाही गर्छु ।’ उनले पार्टी हारको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन लागेको जानकारी पनि दिए । नेतृत्वको कमजोरीका कारण पार्टी हारेको भन्ने तर्कसँग असहमति जनाउँदै देउवाले ०५१ र ०६४ को हारलाई पनि स्मरण गर्न आग्रह गरे । उनले पराजितहरूले आफू हारेपछि नेतृत्वलाई दोष दिने गरेको बताए ।

‘आफू हार्ने अनि हरायो भनेर मलाई दोष दिने रु देउवाले आक्रोश पोखे, ‘तँतँ र मम भनेर केही हुनेवाला छैन । अब पार्टीभित्र अनुशासनसहितको मेलमिलाप कायम गर्नम लाग्छु ।’
यता, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट नेविसंघ समूहले आयोजना गरेको छुट्टै कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्वप्रति आक्रोश पोखे ।

एउटै समयमा पार्टी सभापति देउवा र पौडेल समर्थित नेविसंघका दुई समूहले बेग्लाबेग्लै कार्यक्रम आयोजना मात्रै गरेनन्, निर्वाचनमा पराजय हुनुमा एकअर्कालाई दोषसमेत देखाए । वरिष्ठ नेता पौडेल भने कुनै पनि कार्यक्रममा सहभागी भएनन् ।
उनी आइतबारै तनहुँको कार्यक्रममा पुगेका थिए । पार्टीको केन्द्रीय कार्यसमितिले पूर्णता पाउन नसकेको, दुई वर्षसम्म उपसभापति, महामन्त्री र सहमहामन्त्री बनाउन नसकेको, ४२ वटा विभाग नबनाई पार्टीलाई एकल र तदर्थवाद शैलीमा चलाउँदाको परिणाम नै पार्टीले हार व्यहोर्नुपरेको नेता सिंहको भनाइ थियो । उनले केही समय अघिदेखि नै पार्टी पराजयको समीक्षाका लागि महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन् ।

सभापति देउवाले आफ्ना गुटका लागि बढी उम्मेदवार बनाएको र चुनावमा रणनीतिक योजनासमेत ल्याउन नसकेकाले पार्टी कमजोर भएको सिंहको आरोप थियो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समर्थित नेविसंघले भने शनिबार नै कार्यक्रम राखेको थियो ।
पार्टी सभापति उपस्थित कार्यक्रममा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले पार्टीका कमीकमजोरीबारे छलफल गर्न तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन र त्यस बैठकबाट महासमिति मिति
तोक्न माग गरे । नेता उमेशजंग रायमाझीले हारको समीक्षा गर्दा नेतृत्व कहिल्यै कमजोर नहुने बताए । नेता विमलेन्द्र निधिले राष्ट्रिय सभाको निर्वाचनपछि पार्टी पराजयको समीक्षा गर्नुपर्ने उल्लेख गरे ।

अर्का नेता बालकृष्ण खाँडले देश संविधानअनुसार र पार्टी विधानअनुसार चल्ने भन्दै पार्टी सभापति देउवाको बचाउ गरे ।कान्तिपुर पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);