बूढानीलकण्ठ सरे देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बूढानीलकण्ठ सरे देउवा

deuwa

काठमाडौं, ५ फागुन । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सरकारीनिवास बालुवाटारबाट बूढानीलकण्ठ सरेका छन्। असार ५ गते प्रधानमन्त्री बनेका देउवाले बिहीबार राजीनामा दिएसँगै बालुवाटार छाडेका हुन्।

देउवाको बहिर्गमनसँगै अब उनको बाटोबारे टिप्पणी सुरु भएको छ। सत्ताका चर्चित खेलाडी उनले भोलिका दिनमा कस्ता गतिविधि गर्लान्, चासोसाथ हेर्न थालिएको छ। कांग्रेस निर्वाचनमा पराजित भएको र वाम गठबन्धन तत्कालै धरापमा पर्ने सम्भावना पनि नदेखिएकाले देउवा तत्काल पार्टी व्यवस्थापनमै केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्।

‘अहिले सभापति अब पार्टीतर्फ नै केन्द्रित हुनुपर्ने हुन्छ। हामी पार्टीको केन्द्रीय कार्यसमिति बैठक गर्ने तयारीमा छौं’, उनले भने, ‘उहाँ सरकारी जिम्मेवारीबाट मुक्त भएलगत्तै केन्द्रीय कार्यसमिति बैठक गरेर महासमिति बैठकमा जानेबारे छलफल सुरु भइसकेको छ।’

अहिले केन्द्रदेखि प्रदेशसम्म कांग्रेस विपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। कांग्रेसनिकटका बुद्धिजीवी तथा विश्लेषक अहिले सरकारभन्दा पनि पार्टीको संगठनमा ध्यान दिनुपर्ने सुझाउँछन्। निर्वाचनमा पराजयसँगै कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ। युवादेखि शीर्ष तहकै कतिपय प्रभावशाली नेताले पनि विशेष महाधिवेशन बोलाउन माग गरिरहेका छन्।

सभापति देउवाको अबको प्राथमिकता पार्टीकै काममा हुने नेता बालकृष्ण खाँण बताउँछन्। केन्द्रीय समिति र महासमिति बैठकबारे देउवाले छलफलसमेत थालिसकेको उनले जानकारी दिए। फागुन तेस्रो साता केन्द्रीय कार्यसमिति र वैशाखमा महासमिति बैठक गर्नेबारे देउवाले आन्तरिक छलफल गरिरहेको उनले बताए।

कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक जुगल भुर्तेल भन्छन्, ‘कांग्रेस नेतृत्वले बैठकका लागि बैठक गरेर पनि पुग्न सक्ने अवस्था छैन। पार्टीमा व्यापक सुधारको खाँचो छ। संगठनात्मक ढाँचादेखि सदस्यता दिनेसम्मका कुरामा पुनर्मूल्यांकन गर्नुपर्छ।’ तर सभापति देउवाले पार्टी सुधार्नभन्दा आफ्नो स्थिति बलियो बनाउनेमै बढी समय खर्च गर्ने उनको आकलन छ।

पार्टीले चाँडै संगठनलाई प्रादेशिक तहअनुसार नयाँ मोडलमा लैजाने र तल्लो तहसम्मै कार्यकर्तामा उत्साह जगाउने खालका कार्यक्रम गर्ने खाँडले बताए। अब बस्ने केन्द्रीय बैठकमा निर्वाचनमा पराजयका सम्बन्धमा पार्टी नेताहरूले तयार गरेको प्रतिवेदनबारे छलफल हुने उनले जानकारी दिए। यसअघि माघ ४ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले देउवा सरकारबाट बाहिरिएपछि निर्वाचनसम्बन्धी समीक्षा गर्ने निर्णय गरेको थियो।

देउवा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतसँग लगातार छलफलमा रहेको खाँडले जानकारी दिए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);