ललिता निवास जग्गा प्रकरण, संलग्नता देखिए दण्ड भोग्न तयार छु : डा भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ललिता निवास जग्गा प्रकरण, संलग्नता देखिए दण्ड भोग्न तयार छु : डा भट्टराई

baburam bhattarai

काठमाडौं, १७ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा आफ्नो दोष देखिए दण्ड स्वीकार्न तयार रहेको बताएका छन् । सोमबार संसद बैठकमा सम्बोधन गर्दै भट्टराईले नियतवश संलग्नता देखिएमा आफू दण्ड स्वीकार्न तयार रहेको बताए ।

तुलनात्मक रुपमा स्वच्छ छवि भएका प्रधानमन्त्रीहरु नै बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएको भन्दै भट्टराईले यसको जरासम्म पुग्ने गरी छानबिन गर्न सरकारसंग माग गरे । ‘नियतमात्र ठीक भएर हुँदो रहनेछ, हाम्रो संस्थाहरु कति बेकम्मा रहेछ ?,’ उनले भने, ‘नियतवश संलग्नता देखियो भने म दण्ड स्वीकार्न तयार छु ।’

ललिता निवासको जग्गामा एक अर्कालाई आरोप प्रत्यारोप गरेर मात्र समस्या समाधान नहुने भन्दै यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने उनले औंल्याए ।

‘तपाईं हामी एक अर्कालाई आरोप प्रत्यारोप गर्ने हो भने यो समस्या बल्झेर आइरहन्छ,’ डा. भट्टराईले प्रश्न गरे, ‘यसलाई हामीले एकले अर्कोको कोर्टमा फ्याँकेर समस्या समाधान हुन्छ ?’ उनले व्यक्तिगत रुपमा जति स्वच्छ रहे पनि भ्रष्टाचार रोकिदैन भन्ने कुरा वाइड बडी प्रकरण, बुढीगण्डकी, तारागाउँ होटल र ललिता निवासले देखाएको बताए । उनले भ्रष्टाचारको जरासम्म पुगेर अध्ययन गर्नुपर्ने र जो कोहीले गल्ती गरेको भएर कारवाही गर्नुपर्ने तर्क गरे ।

‘सबभन्दा महत्वपूर्ण, जनताले अनुभूत गरिराखेको, अत्यन्त पेचिलो मुद्दा भ्रष्टाचार र सुशासन बनेको छ,’ पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने, ‘यहाँ अब भ्रष्टाचार हुँदैन भन्ने प्रतिवद्धता आयो, अत्यन्त खुशीको कुरा हो । त्यस्तो भइदेओस् भन्ने म पनि चाहन्छु ।’  यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

तर भ्रष्टाचारको जरो कारण पहिल्याउन नसकेकोमा उनले दुःख व्यक्त गरे । उनले त्यसका लागि ऐन, कानून नियमहरु, व्यक्तिगत संस्कार, आर्थिक, सामाजिक परिवेशलाई नबदेलसम्म भ्रष्टाचार रोक्न नसकिने प्रतिकृया दिए । उनले भ्रष्टाचार रोक्छु भन्नु र गर्नुमा धेरै फरक हुँदा मुलुकमा भ्रष्टाचार रोकिने स्थिति आफूले नदेखेको बताए ।

‘पहिलेदेखि हुँदै आएको सार्वजनिक सम्पत्तिको दोहन गर्ने कुरा, वाइड बडी प्रकरणदेखि तारागाउँ रिसोर्ट, बुढीगण्डकी, अहिले आएर बालुवाटारको ललिता निवासको जग्गाको विषय छ, तपाई हामीले एक अर्कोलाई आरोप प्रत्यारोप गर्नु भन्दा पनि यसको जड कारण के हो ?’ त्यो ठम्याएर हल गर्न सकेनौं भने यो पटक पटक बल्झेर आउनेवाला छ । वाइड बडी प्रकरणको मात्र कुरा गर्दा त्यसमा जनताको आशंका सत्तापक्ष र प्रतिपक्षतिरै सोझिएको अवस्था छ,’ उनले भने । उनले यसरी एकले अर्काको कोर्टमा फ्याँकेर मात्र उम्किन खोज्नुले समस्या समाधानभन्दा पनि बल्झाउने काम भएको प्रतिकृया दिए ।

‘अहिले ललिता निवास प्रकरणमा थुप्रै प्रधानमन्त्री र मन्त्रिमण्डलको नाम जोडिएर आएको छ । संयोगले नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई, तत्कालीन एमालेभित्र सापेक्ष ढंगले स्वच्छ छबी मानिनुभएका माधवकुमार नेपाल, तत्कालीन माओवादीभित्र यहाँहरु सबैले माया गरेर स्वच्छ छवि बनाइदिनुभएको बाबुराम भट्टराई,’ उनले भने, ‘उही तीनवटैको मन्त्रीमण्डलको कालखण्डमा ललिता निवास प्रकरणमा गलत निर्णय भयो भन्ने आएको छ, यसको अर्थ के हो ? यसले एकले अर्कालाई दोषारोपण गर्नेभन्दा पनि त्यसको जड पत्ता लगाउनेतर्फ कसैको ध्यान नगएको मैले पाएको छु ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);