तस्करका लागि वीरगन्ज नाका मुख्य ट्रान्जिट, आठ महिनामा एक सय ४९ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तस्करका लागि वीरगन्ज नाका मुख्य ट्रान्जिट, आठ महिनामा एक सय ४९ जना पक्राउ

birgunj-border-point

अनुप तिवारी

वीरगन्ज , १९ चैत । लागु औषध तस्करहरुले वीरगन्ज नाकालाई मुख्य ट्रान्जिटका रुपमा प्रयोग गरेको पाइएको छ । वीरगन्जमा प्रहरीले आठ महिना यता मात्र एक सय ४९ जना तस्करहरुलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीले वीरगन्जको बसपार्कबाट चैत १५ गते २४ किलो लागुऔषध चरेशसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लियो । बसर्पाकस्थित प्रहरी चौकीको टोलीले चेकजांच गर्दा भारततर्फ पैदल जादैँ गरेका कलकत्ता सिविरपुर वडा नं २७ का सहनवाद अब्दुललाई चरेश सहित नियन्त्रणमा लिएको थियो । यस्तै चैत १४ गते बिहीबार नेपाल भारतको सिमानामा रहेको नेपालको प्रवेश द्वार शंकराचार्य गेट नजिकैबाट ६ किलो लागुऔषध गांजासहित आमा छोरीलाई प्रहरीले निन्त्रणमा लिएको थियो । चार हजारको लोभमा भरिया भएर रक्सौलसम्म गाँजा पुर्याउने जिम्मा लिएका छपकैयामा डेरा गरी बस्ने वर्ष ३८ को अन्जु देवी कर्ण र उनकी छोरीलाई लागुऔषध ओसार पसार कसुरमा मुद्दा चलाइएर प्रहरीले हिरासतमा राखेको छ ।

यी घटनाहरु उदाहरण मात्र हुन् । खुल्ला सिमानाको फाइदा उठाउँदै लागु औषध तस्करीमा लागेका गिरोहले वीरगन्ज नाकालाई मुख्य ट्रान्जिटको रुपमा प्रयोग गरिरहेका छन् । नेपालमा मुख्यरुपले प्रतिबन्धित सुई तथा औषधी भित्रिने गरेको छ भने नेपालबाट प्रतिबिन्धत लागुऔषध गांजा, चरेश, अफिम तथा ब्राउन सुगर भारततर्फ जाने गरेको छ । पर्सामा पछिल्ला वर्षमा लागुऔषध गांजा खेती उन्नमुलन भएपनि पहाडी जिल्ला मकवानपुर, धादिङ्, काठमाडौं, गोरखा, पोखरालगायत ठाउँबाट लागुऔषध आउने पर्सामा भण्डारण गरी भारतमा पुर्याइने गरिएको छ । खुल्ला सिमाना तथा ग्रामिण नाकाहरुबाट विभिन्न ठुला शहरमा सिधा यातायात सम्पर्क स्थापित भएपछि प्रहरीलाई समेत चुनौती थपिएको छ ।

वीरगन्ज नाकाबाट लागुऔषध ओसार पसारको क्रम अहिले बढेको छ । प्रहरीको तथ्यां¬ अनुसार गएको आर्थिक वर्ष ७४÷७५ मा वीरगन्ज नाकाबाट प्रतिबन्धित लागुऔषध ओसार पसार गर्ने एक सय ९५ जना पक्राउ परेका थिए । चालू आर्थिक वर्षको आठ महिनामा हाल एक सय ४९ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा ४० प्रतिशत भारतीय नागरिक छन् । त्यस्तै ७० प्रतिशत जति अधिकांश १८ देखि २८ वर्षसम्मका युवा रहेका छन् । केही पक्राउ परे पनि मुख्य कारोबारी भने अझै पक्राउ पर्न सकेका छैनन् । भरिया मात्र पक्राउ पर्ने गरेका छन् । मुख्य कारोबारीहरु प्रहरीको पँहुचमा नआउनुले पनि सिमामा यो अबैध कारोबार फस्टाएको छ । तर पर्सा प्रहरी भने कडा निगरानी र चेतनामुलक अभियान मार्फत यस्को रोकथाममा जुटेको दाबी गरिरहेको छ ।

लागु औषध मुद्दामा पक्राउ परेका आरोपितका कारण प्रहरीको थुनवा कक्ष भरिभराउ हुने गरेको छ । यो अवस्थाको अन्त्यको लागि अहिले प्रहरी, समुदाय, जनप्रतिनिधी, तथा नागरिक समाजले पहल गर्नु आवश्यक देखिन्छ । लागुऔषधको दुव्र्यसनीका कारण नयाँ पुस्तालाई जोगाउन सबै सचेत नागरिक र सरोकारवालाले आफनो दायित्व ठानी लागुऔषध मुक्त समाजको अभियानमा लाग्नु पर्ने जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);