कोरिया जान एकै दिन ५८ हजार आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरिया जान एकै दिन ५८ हजार आवेदन

korea jan line

काठमाडौं, ९ चैत । दक्षिण कोरियाले प्रदान गर्ने रोजगारीका अवसरप्रति युवाको आकर्षण बढ्दो देखिएको छ। आकर्षक कमाइ हुने भएपछि युवा कोरिया जान लालायित देखिएका हुन्।

ईपीएस कोरिया शाखाका अनुसार कोरिया रोजगारीका लागि आवेदन सुरु भएको पहिलो दिनमै ५७ हजार एक सय ९० जनाले पैसा जम्मा गरेका छन्। तीमध्ये ५३ हजार सात सय ३१ जनाको फारम रजिष्ट्रेसन भइसकेको छ। यो तथ्यांक शुक्रबार साँझ सवा ६ बजेसम्मको हो। कोरिया रोजगारीका लागि २४सै घण्टा अनलाइनबाट पैसा तिर्न र फारम भर्न सकिने व्यवस्था गरिएको छ। शाखा प्रमुख कृष्ण खनालका अनुसार कोरिया रोजगारप्रति युवाको क्रेज बढ्दै गएको छ। ‘एकैदिन करिब ५८ हजारले फारम भर्नु आकर्षण नै हो’, उनले भने, ‘यसपालि अनलाइनबाट भुक्तानी गर्न मिल्ने भएकाले फारम भर्नेको संख्या ह्वात्तै बढेको हो।’

कोरियाले यस वर्ष १० हजार ५० जना कामदार लैजाने तयारी गरेको छ। एकैदिनमा करिब ६ गुणा बढी कामदारले कोरियाका लागि फारम भरेका छन्। विगतका वर्षमा एकैदिनमा बढीमा ४० हजारको हाराहारीमा युवाले फारम भरेका थिए। कोरिया रोजगारीका लागि चैत्र १७ गते राति १२ बजेसम्म फारम भर्न सकिने छ। गतवर्ष ८२ हजारले मात्रै कोरिया रोजगारीका लागि आवेदन दिएका थिए। खनालले अनलाइनबाट पैसा भुक्तानी गर्ने व्यवस्था गरेकाले गतवर्षको जस्तो भीडभाड नभएको बताए। ‘केही व्यक्ति नबुझेर पहिलेजस्तै ठानेर लाइन लागेछन्’, उनले भने, ‘शुक्रबार दिउँसोदेखि लाइन कम भइसकेको छ।’

युवाले इ–सेवा, आईएमई, स्मार्ट बैंकिङ, ग्लोबल आईएमई बैंक तथा मोबाइल एप्सबाट समेत २४ डलर शुल्क जम्मा गर्न सक्ने छन्। खनालले आफूलाई सजिलो हुने गरी युवाले परीक्षा शुल्क जम्मा गर्न र फारम भर्न सक्ने बताए। पोखरा र काठमाडौंमध्ये परीक्षार्थीले आफूले चाहेको केन्द्र रोज्न पाउनेछन्। तर पोखरामा सुरुमा आउने १२ हजारले मात्र फारम भर्न पाउनेछन्। शाखाका प्रवक्ता शोभाकर भण्डारीका अनुसार अनलाइनबाट फारम भर्नेको संख्या अधिक छ। इ–सेवाबाट सवा ६ बजेसम्म २७ हजार सात सय ६२ जनाले कोरिया रोजगारीका लागि शुल्क बुझाएका छन्। आईएमईबाट १५ हजार सात सय ६२, स्मार्ट बैंकिङबाट एक सय ५५ र ग्लोबल बैंकबाट १४ हजार एक सय ८ जनाले परीक्षा दस्तुर बुझाएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);