कोरिया जान रातभर लाइन बस्नुपर्ने वाध्यता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

कोरिया जान रातभर लाइन बस्नुपर्ने वाध्यता

तेजना पण्डित
काठमाडौं, ८ चैत । कोरियन भाषा परीक्षाका लागि आवेदन बुझाउन युवाहरुको भीड लागेको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले आवेदन खुलाएसँगै आवेदन बुझाउन युवाहरुको भीड लागेको हो । ईपीएस कोरिया शाखाले आवेदन फाराम अनलाइनबाट भर्ने व्यवस्था मिलाए पनि शुल्क बुझाउनका लागि रातिदेखि नै लाइन बसेको युवाहरुले बताएका छन् ।

मुलुकभित्र बेरोजगारीको अवस्था कति डरलाग्दो छ भन्ने तथ्य यो लाइनले देखाउँछ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि विहिबार आवेदन खुलाएकामा आवेदनका लागि शुल्क बुझाउन युवाहरुको लाइन लागेको हो । ईपीएस कोरिया शाखाले ग्लोबल आईएमई बैंकलाई मात्र शुल्क लिने अनुमति दिएका कारण भाषा परीक्षामा सहभागी हुन इच्छुक युवाहरुले घण्टौंसम्म लाइन बस्नुपरेको हो । बैंकले विहान १० बजेदेखि शुल्क लिन सुरु गरेकामा युवाहरुले अघिल्लो दिन बेलुकादेखि नै लाइनमा बसेको बताएका छन् ।

भाषा परीक्षामा सहभागी हुनका लागि परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । एक त एउटा मात्र बैंकमा शुल्क बुझाउने व्यवस्था, त्यसमा पनि एउटै आवेदकसँग शुल्क लिन २० मिनेट लगाइएपछि युवाहरुले आक्रोश पोखेका छन् । युवाहरु आक्रोशित हुँदा ग्लोबल आईएमई बैंकका कतिपय शाखाको अवस्था तनावपूर्ण बनेको छ ।

रोजगारीका लागि दक्षिण कोरियालाई आकर्षक गन्तव्य मानिंदै आएको छ । करिब एक लाख रुपैयाँको लागतमा मासिक २ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारले कोरियालाई आकर्षक गन्तव्य मानेका हुन् । युवाहरुले मुलुकभित्र रोजगारीका अवसर नभएको र अवसर पाएपनि पारिश्रमिक निकै कम पाइने गरेका कारण कोरिया जान चाहेको बताएका छन् ।

कोरियाले १० वर्ष अगाडिदेखि भाषा परीक्षा लिन थालेकामा भाषा परीक्षा पास गरेर हालसम्म ५० हजार नेपाली कामदार रोजगारीका लागि कोरिया पुगेका छन् । कोरियाले यसपटक उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार ८ सय र कृषि तथा पशुपालनतर्फ २ हजार ३ सय गरी ७ हजार १ सय कामदार माग गरेको छ । आगामी जेठ २६ र २७ गते सञ्चालन हुने नवौं कोरियन भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन भर्ने म्याद चैत १७ गतेसम्म तोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);