काठमाडौं । सरकारले विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरण र घाइतेहरूको उद्धार तथा उपचार कार्यलाई तिब्रता दिएको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीबार बिहान राहत तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको हो । पौडेलकाअनुसार प्रभावित क्षेत्रमा खाद्यान्न सामग्रीहरू पठाइसकिएको छ । तत्कालका लागि पकाउन नपर्ने तयारी खाद्यान्न जस्तैः चाउचाउ र बिस्कुटहरू सम्बन्धित स्थलमा पुगिसकेको उहाँले बताउनु भयो । राहत वितरणमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखिएको छ । उनीहरूका लागि आवश्यक ओछ्यान (बेडिङ) तथा अन्य बन्दोबस्तीका सामग्रीहरू उपलब्ध गराइएको छ ।
घाइतेहरूको उपचारका लागि प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन गरिएको र उनीहरूले घाइतेको प्रारम्भिक उपचार तथा सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ । यसका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती (सिभिल) अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रूपमा तोकिएको छ ।
विपद्मा परी ज्यान गुमाएकाहरूको शव व्यवस्थापन कार्य पनि अगाडि बढाइएको छ । पहिचान भएका शवहरू कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाउने कार्य भइरहेको पौडेलले जानकारी दिनुभयो । सरकारले अहिले घाइतेको उद्धार र तत्कालिन राहतलाई नै मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ ।




