कोरिया आकर्षण : पहिलो दिनमै ३० हजारले बुझाए पैसा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरिया आकर्षण : पहिलो दिनमै ३० हजारले बुझाए पैसा

koria

काठमाडौं, ९ चैत । कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ। भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् ।

शाखाले अनलाइन आवेदन खुला गरेको पहिले दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले देशमा वेरोजगारी बढिरहेको संकेत गराउँछ। नवौं भाषा परीक्षामा सहभागी हुन चैत १७ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ।तर, पहिलो दिन मै ३० हजारभन्दा बढी युवाले भाषा परीक्षाका लागि ग्लोबल बैंकमा २४ डलर भुक्तानी गरिसकेको शाखाका प्रवक्ता शोभाकर पराजुली बताउँछन्।बिहीबार बैंकमा रकम जम्मा गरेका युवाले शुक्रबार मात्रै अनलाइन आवेदन दिन सक्छन् ।

अनलाइन आवेदन दिने युवाको उमेर १८ वर्ष पूरा भएको ३९ ननाघेको हुनुपर्छ।आवेदन दिँदा इमेल आईडी र फोन नम्बर अनिर्वाय गरिएको छ। एम आरपी पासपोर्ट र फोटो समेत स्क्यान गरेर आवेदन समीट गर्नु पर्ने पराजुली बताउँछन्।भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ।परीक्षा केन्द्र काठमाडौं र पोखरा तय भएको छ।पोखरामा १२ हजार मात्रै सहभागी हुन पाउनेछन् ।

स्नातकोत्तर अध्यय पूरा गरेका युवा रोजाइमा समेत कोरिया परेको शाखामा निर्देशक कृष्णप्रसाद खनाल बताउँछन्।नेपालबाट सन् २०१९ मा ७१ सय युवा जान पाउनेछन्।यसमा उत्पादनमूलक क्षेत्रका लागि चार हजार ८ सय र कृषि क्षेत्रका लागि दुई हजार तीन सय जनाको सिलिङ तोकेको छ। तर, २०१८ का लागि १० हजार एक तोकेको थियो ।

किन कोरिया

गुल्मीका सुमन अर्याल ६ वर्षदेखि कोरियामा काम गर्दै आएका छन्। पहिलो पटक २०१० मा कोरिया पुगेको अर्याल पाँच वर्षको समय पूरा गरी नेपाल आए। तर, उनको मनमा कोरियाको ह्याङ भने हट्न सकेन फेरि २०१६ को भाषा परीक्षा दिएर उनी कोरिया गए।‘दुःख छ, तर, मेहनत अनुसारको आम्दानी पनि छ’, उनले भने, ‘कडा मेहनत गर्नेले राम्रै आम्दानी पनि गर्छन्। कम लागत अनि आम्दानी पनि राम्रो हुने हुँदा कोरिया नेपाली कामदारका लागि आकर्षण बढेको उनी बताउँछन्। पाँच वर्ष कोरियामा दुःख गरे नेपालको मध्यम वर्गीय परिवारमा परिन्छ ।
परिवारको आवश्यकता पूरा गर्न पनि खासै समस्या नरहेको अर्यालको भनाइ छ।सामान्यत मासिक डेढ लाखदेखि तीन लाखसम्म आम्दानी हुने हुँदा पनि कोरियाको आर्कषण बढेको हो।कोरियन भाषा पास गरेर कोरिया पुग्न त्यति सहज छैन।एक त भाषा पढ्नै गाह्रो छ, यसमाथि लोकसेवाको परीक्षामा जस्तै कडा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता पनि छ ।

सरकारी जागिरमा कार्यरत धादिङका गोरखामा विदुर ढकाल पनि विगत दुई वर्ष देखि कोरियामा काम गर्दै आएका छन्।नेपालको सरकारी जागिरबाट परिवारको दैनिक खर्च गुजार गर्न मुस्किल भएपछि उनी जागिर छोडेर कोरिया गएको बताउँछन् ।
१० वर्षमा ५१ हजार

रोजगारीका लागि कोरिया कोटा थोरै भए पनि युवाको भीड बढी देखिन्छ।देशमै रोजगारीको अवसर नहुँदा युवा विदेश जान बाध्य छन्।रोजगारीको खोजीमा नेपालबाट एक सय १० भन्दा बढी मुलुकमा श्रम स्वीकृति लिँदै युवा पलायन भइरहेका छन्।पछिल्लो सयम शिक्षित युवाको रोजाइमा दक्षिण कोरिया परेको छ ।

एक लाख रुपैयाँ खर्च गरेर डेढ लाखसम्मको आम्दानी हुने गन्तव्य कोरिया बनेको छ।सरकारकी माध्यमबाटै जाँदा ठगिने सम्भावन कम हुने हुँदा युवाको रोजाइा कोरिया परेको इपीएस शाखाको भनाइ छ ।

सरकारले १० वर्षकै अवधिमा झन्डै ५१ हजार युवालाई कोरिया पठासकेको छ।कोरिया सरकारसँग सन् २००७ मा सम्झौता भइ नेपाल सरकार आफैले सन् २००८ बाट कामदार पठाउँदै आएको हो।कोरिया सरकारले सन् २०१९ का लागि नेपालबाट सात हजार एक सय कामदार लैजाने गरी कोटा तोकेको छ।तर, भाषा परीक्षामा भने झन्डै एक लाख विद्र्यीथी सहभागी हुने अवस्था छ ।

कोरिया सरकारले सन् २०११ पछि सबैभन्दा बढी कामदार सन् २०१८ मा लैजान निर्णय गरेको थियो।सन् २०१८ मा कोरियाले १० हजार एक सय कामदार नेपालबाट लैजाँदै छ।सन् २००८को पहिलो कोरियन भाषा परीक्षमा ३१ हजार पाँच सय २५ जना सहभागी भएका थिए भने सन् २०१८ मा आइपुग्दा ७२ हजारले आवेदन दिएका थिए ।

यो वर्ष भने ८० हजारभन्दा बढी हुने शाखाको अनुमान छ। सन् २०१६ मा ६१ हजारले परीक्षा आवेदन दिएका थिए।यसैगरी सन् २०१० मा ३६ हजार दुई सय तीन, २०११ मा ५० हजार ४३, सन् २०१३ मा ४४ हजार एक सय २२, सन् २०१४ मा ५८ हजार सात सय ४६, सन् २०१५ मा ५१ हजार एक सय ३७ जना परीक्षामा सहभागी भएका थिए।

परीक्षमामा सहभागीमध्ये सन् २००८ मा ६ हजार सात सय ८६, सन् २०१० मा चार हजार एक सय ८०, सन् २०११ मा १५ हजार ६ सय ७८, सन् २०१३ आठ हजार ५१, सन् २०१४ मा ३६ सय ६४, सन् २०१५ मा आठ हजार चार सय ९० र सन् २०१६ मा ३५ सय १७ जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए।

२०१७ मा १० हजार पाँच सय परीक्षार्थी पास भएका थिए।सन् २००८ देखि सन् २०१६ को भाषा परीक्षासम्ममा झन्डै चार लाख युवा परीक्षामा सहभागी भइसकेका छन् । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);